आधारभूत तहका पोखरेली शिक्षकहरुलाई विषयगत शिक्षक तालिम सम्पन्न

-


     मर्दी न्युज    
     वैशाख २९ गते २०७९ मा प्रकाशित


राष्ट्रिय शिक्षक सीप विकास फाउण्डेशन (एन्फोस्र्ड) कास्कीको प्रमुख आयोजनामा नेदरल्याण्ड स्थित केपिजे यूनिभर्सिटी अफ एपलाईड साइन्सन्जको सहकार्य तथा कर्मफ्लाइट्स फाउण्डेसन नेपालको संयोजनमा पोखराका १२ विद्यालयका ६५ जना शिक्षकहरुको लागि विषयगत शिक्षक तालिम सम्पन्न भएको छ ।

दुई दिन अंग्रेजी विषय तथा दुई दिन गणित विषयमा कार्यशाला सहित चलेको तालिम पोखरा–९ स्थित लक्ष्मी आवासिय (एलए) मा.वि.मा सञ्चालन भएको थियो । सामुदायिक र संस्थागत दुवै विद्यालयहरुमा आधारभूत तहमा अध्यापन गर्ने शिक्षकहरु सहभागी भएको उक्त तालिमको शुभारम्भ समारोहमा प्रमुख आमन्त्रित अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखाका निर्देशक श्री हेम प्रसाद आचार्यले विद्यालय शिक्षामा बिषयगत उपलब्धि न्यून रहेको तथ्य स्विकार्दै गुणस्तर सुधार गरी नैतिक मूल्य मान्यता र राष्ट्रियताबाट ओतप्रोत विश्व नागरिक उत्पादन गर्ने दायित्व शिक्षक लगायत शिक्षामा काम गर्ने सम्बन्धित सबै सरोकारवालाहरुको दायित्व रहेको औंल्याएका थिए ।

सन् २०१२ सालदेखि पोखरामा शिक्षक तालिमको समन्वय गर्न स्थापित एन्फोस्र्ड फाउण्डेशन कास्कीको केपिजे विश्वविद्यालय तथा थिओला फाउण्डेसन, दि नेदरल्याण्डको सहकार्यमा युरोपियन शिक्षण पद्धतिबाट प्रेरित हुँदै शिक्षक तालिम प्रदान गर्दै आईरहेको र सहकार्यको दशौं वर्षको उपलक्ष्यमा खास गरि कोभिड १९ माहामारी पश्चात पहिलो पटक भौतिक रुपमा यो तालिम गरिएको तालिम संयोजक प्रेम बहादुर कुँवरले जानकारी दिए ।

सोहि उपलक्ष्यमा केपिजे विश्वविद्यालयका प्राध्यापक बर्ट टोलले नेपालका शिक्षकहरुलाई व्यवहारिक तालिम प्रदान गरि यहाँका बालबालिकालाई रमाइलो संग सिकाई कार्य गराउन पाउँदा आफूहरुलाई गर्व लागेको र आगामी असोज कार्तिकमा पोखरा–११ स्थित शिवशक्ति क्याम्पसको समेत सहकार्यमा बृहत शिक्षक तालिम तथा कार्यशाला सञ्चालन गरिने बताए ।


संस्थागत विद्यालयमा अध्ययन गर्ने शिक्षकहरुलाई भएको तालिम अभावलाई पूर्ति गर्दै संस्थागत र सामुदायिक विद्यालय विच स्टार स्कूल र स्याटेलाईट स्कूलको अवधारणा अन्र्तगत मितेरी लगाई तालिममा सहभागी गराईएको जसले गर्दा दुई खाले विद्यालय शिक्षाको खाडल कम गर्न सहयोग भई एक अर्काका विद्यालयहरुका राम्रा अभ्यासहरु आदानप्रदान गर्न तालिम सहायक शिद्ध भएको कुरा संस्थाका उपाध्यक्ष विष्णु प्रसाद तिमिल्सिनाले बताए ।

तालिमको प्रथम दुई दिन अंग्रेजी विषयको सहजीकरण केपिजे विश्वविद्यालयका बर्ट टोलले आउटडोर एजुकेशन, अमेरिकाका भाषाविद स्टेफन एल जोन्सनले मेमोराईजेशन भर्सेस एक्स्पिरिएन्सल लर्निङ इन स्पोकन ईङ्लिस तथा प्रशिक्षक द्वय नारायण आचार्य र शशिधर बरालले ‘कम्पोजिशन एण्ड कम्प्रिहेन्सन स्किल्स एण्ड डिजाइनिङ क्लासरुम एक्टिभिटिज’ विषयमा कार्यशाला अभिमुखीकरण गरेका थिए ।

गणितीय विषयगत तालिममा भने प्रशिक्षक द्वय बेद प्रसाद शर्मा र भद्रराज त्रिपाठीले पाठ्यक्रम अनुसार “गणितिय विशिष्टिकरण तालिका, ब्लुम्स टेक्सोनमी अनुसार, ग्रीड अनुसार उपयुक्त प्रश्नहरु कसरी बनाउने तथा कक्षाकोठामा गणितीय शैक्षिक क्रियाकलापहरु सञ्चालन गरि गणितलाई सजिलो सँग कसरी सिकाउने” भन्ने विषयमा केन्द्रित रहेर कार्यशाला सञ्चालन गरिएको थियो ।

कार्यक्रममा सहभागी शिक्षकहरुलाई प्रमाणपत्र वितरण गरिको थियो भने आयोजकको तर्फबाट एलाइड पब्लिकेशन र गिनिज पब्लिकेशन प्रकाशन गृहले तालिम सञ्चालनमा महत्वपूर्ण आर्थिक सहयोग प्रदान गरेकोमा सरोकारवाला सम्पूर्ण संघ संस्था विद्यालय तथा सहभागी शिक्षकहरुलाई संस्थाका अध्यक्ष विश्वास बास्तोलाले धन्यवाद ज्ञापन गरेका थिए ।