पोखरा उपत्यकामा २४ बर्ष पछि भेटियो घुँगीफोर गरुड

-


     मनशान्त घिमिरे    
     जेठ १ गते २०७९ मा प्रकाशित


फोटोः मनशान्त घिमिरे

ग्लोबल बिग डे तथा गृष्मकालिन बसाई सराई गर्ने पंछीहरु को अबलोकनका क्रममा घुँगीफोर गरुड २४ वर्ष पछि फेवातालको सिमसार क्षेत्रमा दोस्रो पटक अभिलेख गरिएको छ ।

पोखरा पंछी समाजको अगुवाईमा गरिएको उक्त कार्यक्रममा राष्ट्रिय स्तरमा संवेदनशिल अबस्थामा रहेको यस प्रजाति अबलोकनकर्ताहरु मनशान्त घिमिरे, शेषकान्त शर्मा, कृपा कुमार गुरुङ र अमन सुनारले ३ वटाको संख्यामा समुन्द्री सतह देखि ८५० मिटरको उचाईमा भेटेका थिए । सन् १९९८ मा पंछीबिद हठन चौधरीले यस गरुडको पहिलो अभिलेख गरे यता उपत्यकामा देखिएको थिएन ।

विदेशी नागरिक फ्लेमिङ र ट्रेलोरले सन् १९६४ मा चितवन राष्ट्रिय निकुञ्जको खुरिया मुहानमा नेपालका लागि पहिलो पटक अभिलेख गरिएको यस प्रजाति तराईका संरक्षित क्षेत्र तथा तिनका मध्यबर्ती क्षेत्र र संरक्षित क्षेत्र बाहिरका ताल तलैया, खोला तथा घोलहरु का साथै खेतबारीहरुमा प्रायः देखिने गर्दछ ।

विशेष गरि घुँगी, गँगटा, भ्यागुता खाने यस प्रजाति समुन्द्री सतह देखि २५० मिटर सम्म तराईको पूर्वको झापा देखि पश्चिमको कञ्चनपुर सम्म प्रजनन कोलोनी बनाई बस्ने गरेको पाईएको र एउटा अभिलेख काठमाण्डौ उपत्यकाको साँखु क्षेत्रमा करिब १४०० मिटरको उचाईमा भेटिएको नेपालको संकटापन्न पंछीहरुको रातो किताबमा उल्लेख गरिएको छ ।

सिमसार क्षेत्रहरुको ब्यापक गिरावट, गुँडहरु बनाउन उपयुक्त रुखहरु तथा वासस्थान विनाश, अबैध चोरी शिकार, खेतवारीमा ब्यापक कीटनशक औषधीको प्रयोगले घुँगीफोर गरुड तथा यीनका अन्य प्रजातिहरु निकै खतरामा रहेका छन् ।

९८ प्रजाति को अभिलेख

विश्वब्यायी रुपमा पंछीहरुको अबलोकन गरि मनाईने ग्लोबल बिग डे यस वर्ष नेपालमा स्थानिय निर्वाचनका कारण ओझेलमा परेको र पोखरा उपत्यकाको आंशिक भुभागहरुमा मात्र अनुगमन गरिएको थियो । अबलोकनका क्रममा रैथाने, गृष्मकालिन बसाई सराई गर्ने पंछीहरु, वटुवा लगायतका प्रजातिहरु भेटिएको थियो ।

कुल ९८ प्रजातिको अभिलेख गरिएकोमा कतिपय संकटापन्न तथा अति संकटापन्न पंछीहरु समेत थिए ।