
फोटोः मनशान्त घिमिरे
ग्लोबल बिग डे तथा गृष्मकालिन बसाई सराई गर्ने पंछीहरु को अबलोकनका क्रममा घुँगीफोर गरुड २४ वर्ष पछि फेवातालको सिमसार क्षेत्रमा दोस्रो पटक अभिलेख गरिएको छ ।
पोखरा पंछी समाजको अगुवाईमा गरिएको उक्त कार्यक्रममा राष्ट्रिय स्तरमा संवेदनशिल अबस्थामा रहेको यस प्रजाति अबलोकनकर्ताहरु मनशान्त घिमिरे, शेषकान्त शर्मा, कृपा कुमार गुरुङ र अमन सुनारले ३ वटाको संख्यामा समुन्द्री सतह देखि ८५० मिटरको उचाईमा भेटेका थिए । सन् १९९८ मा पंछीबिद हठन चौधरीले यस गरुडको पहिलो अभिलेख गरे यता उपत्यकामा देखिएको थिएन ।
विदेशी नागरिक फ्लेमिङ र ट्रेलोरले सन् १९६४ मा चितवन राष्ट्रिय निकुञ्जको खुरिया मुहानमा नेपालका लागि पहिलो पटक अभिलेख गरिएको यस प्रजाति तराईका संरक्षित क्षेत्र तथा तिनका मध्यबर्ती क्षेत्र र संरक्षित क्षेत्र बाहिरका ताल तलैया, खोला तथा घोलहरु का साथै खेतबारीहरुमा प्रायः देखिने गर्दछ ।
विशेष गरि घुँगी, गँगटा, भ्यागुता खाने यस प्रजाति समुन्द्री सतह देखि २५० मिटर सम्म तराईको पूर्वको झापा देखि पश्चिमको कञ्चनपुर सम्म प्रजनन कोलोनी बनाई बस्ने गरेको पाईएको र एउटा अभिलेख काठमाण्डौ उपत्यकाको साँखु क्षेत्रमा करिब १४०० मिटरको उचाईमा भेटिएको नेपालको संकटापन्न पंछीहरुको रातो किताबमा उल्लेख गरिएको छ ।
सिमसार क्षेत्रहरुको ब्यापक गिरावट, गुँडहरु बनाउन उपयुक्त रुखहरु तथा वासस्थान विनाश, अबैध चोरी शिकार, खेतवारीमा ब्यापक कीटनशक औषधीको प्रयोगले घुँगीफोर गरुड तथा यीनका अन्य प्रजातिहरु निकै खतरामा रहेका छन् ।
९८ प्रजाति को अभिलेख
विश्वब्यायी रुपमा पंछीहरुको अबलोकन गरि मनाईने ग्लोबल बिग डे यस वर्ष नेपालमा स्थानिय निर्वाचनका कारण ओझेलमा परेको र पोखरा उपत्यकाको आंशिक भुभागहरुमा मात्र अनुगमन गरिएको थियो । अबलोकनका क्रममा रैथाने, गृष्मकालिन बसाई सराई गर्ने पंछीहरु, वटुवा लगायतका प्रजातिहरु भेटिएको थियो ।
कुल ९८ प्रजातिको अभिलेख गरिएकोमा कतिपय संकटापन्न तथा अति संकटापन्न पंछीहरु समेत थिए ।

