
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा विस्तारमा कडाइ गरेको छ ।
चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस वर्ष निजी क्षेत्रमा १२.६० प्रतिशत मात्र कर्जा विस्तार गर्ने लक्ष्य राखिएको जानकारी दिएको छ।
गत वर्ष राष्ट्र बैंकले निजी क्षेत्रमा १९ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको थियो। तरलता अभावका कारण लक्ष्यको करिब १२ प्रतिशत मात्र कर्जा विस्तार भएको थियो ।
यस्तै साना तथा मझौला उद्योगमा कर्जा प्रवाहलाई विस्तार गर्ने विषयलाई मौद्रिक नीतिमा समेटिएको छ।
यस्तै बैंकको ब्याजदरलाई बढाएर साढे आठ प्रतिशत पुर्याएको छ। राष्ट्र बैंकले सात प्रतिशतमा रहेको बैंकको ब्याजदरलाई बढाएर साढे आठ प्रतिशत पुर्याएको हो। यो सँगै बैंकबीच एक आपसमा हुने कारोबारको दर बढ्नेछ। राष्ट्र बैंकले चालु आर्थिक वर्षमा अनिवार्य नगद मौज्दात (सीआरआर) को सीमा ३ प्रतिशतबाट बढाएर चार प्रतिशत कायम गरेको छ।
अब बैंकले निक्षेपको चार प्रतिशत रकम अनिवार्य रुपमा मौज्दात राख्नुपर्नेछ। वैधानिक तरलता अनुपात (एसएलआर) को सीमा समेत बढेको छ।
राष्ट्र बैंकले पुस मसान्तभित्र वाणिज्य बैंकले १२ प्रतिशत, विकास बैंकले १० प्रतिशत एसएलआर राख्नुपर्ने व्यवस्था गरेको हो।
नेपाल राष्ट्र बैंकले दुई थरी ब्याजदरको व्यवस्था गरेको छ। मौद्रिक नीतिमार्फत् कृषि र उद्योगलाई प्रोत्साहन गर्न दुईथरी ब्याजको व्यवस्था भएको हो।
बढ्दो आयातालाई निरुत्साहित गर्न पुँजीगत वस्तुबाहेकको आयात गर्दा नै ब्याजदर दुई थरी हुनेछ। एलसी खोल्दा नै पुँजीगत वस्तुका लागि ब्याजदर कम हुने व्यवस्था गरिनेछ भने अन्य वस्तु आयातमा ब्याजदर उच्च हुनेछ।
पछिल्लो समय अत्यावश्यक मानिएका खाद्यान्न र कतिपय अनावश्यक वस्तुको पनि आयात बढेको भन्दै त्यसलाई निरुत्साहन गर्न पुँजीगत वस्तुको आयात र अन्य वस्तुको आयातमा कम्तीमा दुई प्रतिशत बिन्दुले ब्याज फरक हुने व्यवस्था मौद्रिक नीतिमार्फत गरिएको हो।
मौद्रिक नीति ०७९/८० को (पूर्णपाठ)

