
पोखरा । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अहिलेको गठबन्धन मुलुकका निम्ति आफैं समस्या बनेर आउन सक्ने बताएका छन् ।
आज प्रेस चौतारी कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले गठबन्धनबाट मुलुकले समाधान पनि नपाउने र मुलुकलाई थप संकटतिर लान सक्ने बताएको हो ।
‘गठबन्धन केका लागि भन्दा समस्या समाधानको लागि भन्ने तर गठबन्धन आफैं समस्या बनेर आयो भने, न त मुलुकले समाधान पायो न कुनै एउटा दललाई अगाडि बढ्नका लागि बाटो खोलियो’ उनले भने, ‘यो गठबन्धनले मुलुकलाई थप संकटतिर लाने पक्का छ ।’
अहिलेको राजनीतिक समस्याको समाधान अबको चुनावले पनि गर्न नसक्ने आशंकाकै बीचमा चुनाव हुन गइरहेको समेत पाण्डेले बताए । यसअघि भएका राजनीतिक अस्थिरता समाधान गर्न सक्यो भनेमात्रै देशले सही दिशा लिने पाण्डेको भनाइ छ । अबको चुनावमा कुनै पनि एउटा दलको बहुमत नपुग्ने पनि उनले बताए ।
आगामी निर्वाचनमा एमाले पनि अप्ठ्यारो स्थितिमा रहेको बताउँदै यस्तो परिस्थितिका बाबजुद पनि एमाले चुनावको तयारीमा रहेको बताए ।
‘२०५६ सालमा भएको चुनावमा पार्टी विभाजित भए पनि हाम्रा विरुद्धमा कसैको गठबन्धन थिएन ।’ उनले भने, अहिले हामी विभाजनको अवस्थामा पनि र सँगसँगै विभिन्न दल मिलेर गठबन्धन पनि गर्ने दुई चुनौति हाम्रा सामु छन् ।’
एमालेले यी चुनौतिलाई गम्भीरतापूर्वक लिएको बताउँदै सबैखाले समस्याको विश्लेषण गर्दै राजनीतिक घोषणा पत्र बनाइरहेको पनि पाण्डेले बताए ।

