काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले निर्वाचनलक्षित अभियान सञ्चालन गर्ने भएको छ ।
आसन्न निर्वाचनलाई लक्षित गर्दै ‘एक पार्टी सदस्यले दुई मतदाता थप्नुपर्ने’ अभियान सञ्चालन गर्न लागिएको हो । केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले यसबारे जानकारी गराएका हुन् ।
एक सदस्य दुई नयाँ मतदाता थप र पाँचजना पुरानाको संरक्षण गर्ने योजना केन्द्रीय कमिटी बैठकमा पेस भएको छ ।
एमालेका ८ लाख पूराना सदस्य छन् भने यसबीचमा थपिएर करिब ११ लाख पुगेको तर त्यसको अद्यावधिक हुन बाँकी रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । ११ लाख पार्टी सदस्यले दुईजना मतदाता थप्दा एमालेको पक्षमा २२ लाख मत थपिने पार्टीको आंकलन छ ।
एमालेले स्थानीय तहमा प्रमुख उम्मेदवारले पाएको मतका आधारमा ३९ लाख मत पाएको छ भने वडाध्यक्षको आधारमा त्यसको केही कम छ । यो मत सुरक्षा गर्दै १० लाख मतदाता पार्टीमा थप्नेगरी लाग्न पार्टीले अभियान सन्चालन गर्ने भएको छ ।