तिनदिने गाइड पुनर्ताजगी तालिमको समापन र चौथो साधारणसभा सम्पन्न

-


     मर्दी न्युज    
     भाद्र २१ गते २०७९ मा प्रकाशित


रमणीय तथा सुन्दर नगरी पोखरा तथा अन्नपूर्ण क्षेत्रमा गाइडको रूपमा कामगरि देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन महत्त्वपूर्ण भुमिका निभाउने ब्यक्तिहरु सम्मीलित संस्था पोखरा सिटि टुर गाइड एसोसिएसनको चौथो बार्षिक साधारणसभा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, ड्यामसाईडको सभाहलमा सम्पन्न भएको छ ।

भदौ १९ देखि २१ गतेसम्म संचालन भएको तिनदिने टुर गाइड पुनर्ताजगी तालिमको समापन तथा संस्थाको चौथो बार्षिक साधारणसभाको उदघाटन कार्यक्रमका प्रमुख अतिथि पोखरा पर्यटन परिषदका अध्यक्ष पोम नारायण श्रेष्ठले आफ्नो प्रमुख अतिथिको मन्तव्य राख्ने क्रममा शुभकामना व्यक्त गर्दै कोभिड को महामारीका कारण धेरै दक्ष जनशक्ति पलायन भएकोले यस्तो तालिमले आउदो पर्यटकीय सिजनमा सहयोग पुग्ने बताएका थिए ।

बिशेष अतिथि नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशका कार्यालय प्रमुख, वरिष्ठ निर्देशक काशीराज भण्डारीले पर्यटकको बसाई लम्ब्याउन र देशको नाम बिश्वमा फैलाउन गाइडहरुको महत्त्वपूर्ण भुमिका हुने बताउदै यस्ता खाले तालिमहरुमा आगामी दिनहरू मा पनि हातेमालो गर्ने बताए ।

पोखरा पर्यटन परिषद आवद्ध संघ संस्थाका अध्यक्षहरुले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो। तालिममा ४० जना गाइडहरुको सहभागिता रहेको थियो।

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयको आर्थिक सहकार्यमा सम्पन्न तालिमका सहभागीहरु लाई प्रमुख अतिथिको हातबाट प्रमाणपत्र, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक काशीराज भण्डारीको हातबाट टिसर्ट प्रदान गरिएको थियो ।

तालिमका प्रशिक्षकहरु सुनिल उलक, हेम राज बास्तोला र शेषकान्त शर्मालाई प्रशंसा पत्र प्रदान गरिएको थियो।

अध्यक्ष दिनेश गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन द्वितीय उपाध्यक्ष आनन्द गुरुङले गरेका थिए भने स्वागत मन्तव्य प्रथम उपाध्यक्ष निर्मला सुबेदिले राखेकी थिईन् ।