काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब पाँच दिनमात्रै बाँकी रहेको छ ।
निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्थाअन्तर्गत यही कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारका लागि निर्धारण गरिएको छ । मङ्सिर १ गते रातिदेखि प्रचारप्रसार निषेधको शान्त (मौन) अवधि भएकाले उक्त अवधिमा प्रचारप्रसार स्थिर हुने कानुनी व्यवस्था रहेको छ । आयोगले आचारसंहिताको परिपालना भइरहेको र उल्लङ्घनका घटनामा कारवाहीको क्रम जारी रहेको जनाएको छ ।
आचारसंहिता उल्लङ्घनका १४९ उजुरी
निर्वाचन आयोगमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १४९ उजुरी परेको छ। आयोगलाई प्राप्त आचारसंहिता उल्लङ्घनका १४९ उजुरीमध्ये ११६ जनालाई स्पष्टीकरण सोधेको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।
त्यसमध्ये ९ वटामा भने आचारसंहिता उल्लङ्घन भएको आयोगले निर्णय गरेको उनले जानकारी दिए । ३५ वटा मिसिलको सन्दर्भमा एक÷दुई दिनभित्रै निर्णय गरिने र अन्य क्रमशः निर्णय हुँदै जाने भण्डारीले स्पष्ट पारे। आयोगले मतदानपूर्व नै आचारसंहिता उल्लङ्घन भएका उजुरीहरूको सम्पूर्ण निर्णय प्रक्रिया सक्ने उनले उल्लेख गरे।