
पोखरा, १४ मंसिर । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना हुने २० औं संस्करणको ‘समृद्धि स्टिल्स् औद्योगिक व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।
पोखरा उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा यही मंसिर १६ देखि २५ गतेसम्म हुने मेलाको तयारी ९० प्रतिशत पुरा भएको आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
संघका महासचिव बलराम आचार्यले मेलाको तयारी अन्तिम चरणमा पुगको बताए । ‘हाम्रो तयारी अन्तिम चरणमा पुगेको छ । आजसम्म ९० प्रतिशत काम सकिएको अवस्था छ, उनले भने, ‘बाँकी काम अबको दुई दिनमा सकिनेछ ।’
आचार्यका अनुसार अधिकांश स्टलहरु बुकिङ भइसकोका छन् । मेलामा करिब २ सय ५० वटा स्टलहरु रहको जानकारी दिदै ४० भन्दा बढी अटोका स्टलहरु रहेको जानकारी पनि उनले दिए ।
यसैगरि संघका अध्यक्ष पवन प्रजापतिले स्थानीयस्तरमा उत्पादन भएका समाग्रीको बिक्री तथा वितरण कृषिजन्य, हस्तकलाको प्रदर्शनी, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतको प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पुर्याउने मेलाको उद्देश्य रहेको बताए ।
कोरोना भाइरस महामारीका कारण दुई वर्ष मेला आयोजना गर्न नपाएको अध्यक्ष प्रजापतिले बताए । औधोगिक मेला २०४२ सालबाट निरन्तररुपमा आयोजना हुदै आएको छ ।
मेला हेर्न सर्वसाधारणका लागि १ सय र विधार्थीका लागि ६० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ ।

