प्रधानमन्त्रीबाट ग्लोबल आईएमई बैङ्कको कारोबार शुभारम्भ

-


     मर्दी न्युज    
     पुस २५ गते २०७९ मा प्रकाशित


काठमाडौं । ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमान्डुको एकीकृत कारोबार सोमबारदेखि सुरु भएको छ । मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेसँगे प्रधानमन्त्री पुष्पकमल दाहालबाट सोमबार बिहान एक कार्यक्रमबीच कारोबारको शुभारम्भ गरेको हो ।

मर्जरपछिको एकीकृत कारोबारको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताए । अर्थतन्त्र तत्काल सुधार गर्न पर्ने देखिएकोले सरकार गठन लगत्तै पहिलो निर्णय यसै सम्बन्धी गरिएको उनले बताए।

अर्थतन्त्र सुधार गर्न केही संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता महसुस भएको भन्दै प्रचण्डले त्यसका लागि अर्थ मन्त्रालय र राष्ट्र बैङ्कसँग छलफल भइरहेको बताए ।

दुवै बैङ्कको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपछि बन्ने संस्थामा सर्ने गरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएका सम्पूर्ण वित्तीय कारोबार एकीकृत कारोबार सोमबारदेखि ‘ग्लोबल आईएमई बैङ्क लिमिटेड’का नामबाट सुरु भएको छ ।

ग्लोबल आईएमई बैङ्कले बैङ्क अफ काठमान्डुलाई मर्ज गरेपछि मुलुककै ठूलो बैङ्क बनेको बैङ्कले जनाएको छ । मर्जरपश्चात् बैङ्कको कुल पुँजी ५७ अर्ब रुपियाँ चुक्ता पुँजी ३५.७७ अर्ब रुपियाँ, कुल निक्षेप चार खर्ब, कुल कर्जा तीन खर्ब ७९ अर्ब रुपियाँभन्दा बढी भएको बैङ्कले जनाएको छ ।

ग्लोबल आईएमई बैङ्कमा योसहित पाँचवटा वाणिज्य बैङ्क, १० वटा विकास बैङ्क तथा छ वटा फाइनान्स कम्पनी समाहित भइसकेका छन् ।