
एजेन्सी । टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी कम्तीमा बाह्र हजार मानिसले ज्यान गुमाएको छ।
बीबीसीका अनुसार टर्की र उत्तरी सिरियामा गरी कम्तीमा १२,००० मानिसले ज्यान गुमाएको पुष्टि भएको छ।
टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रको भ्रमण गरेका छन् ।
आलोचकहरूले भूकम्प प्रभावित क्षेत्रमा आपत्कालीन सेवाहरूको प्रतिक्रिया निकै ढिला भएको र सरकारको तयारी कमजोर रहेको जनाएका छन्।
राष्ट्रपति एर्दोआनले सरकारले केही समस्याहरू सामना गरेको स्वीकार गरेका छन् भने अहिले स्थिति नियन्त्रणमा रहेको उनले बताएका छन्।
यद्यपि, टर्कीका प्रमुख प्रतिपक्षी दलका नेता केमाल किलिचदारोग्लुले उनको कुरामा सहमति जनाएका छैनन्। उनले राष्ट्रपति नै जिम्मेवार भएको आरोप लगाएका छन् ।
राष्ट्रपतिले उक्त आरोपको खण्डन गर्दै विपद्पछि एकता आवश्यक रहेको बताए ।