
फाईल फोटोः मनशान्त घिमिरे
नेपालका लागि पहिलो पटक गत वर्ष चितवनमा भेटिएको चिनियाँ बकुल्ला आज जेठ ६ गते पोखराको मैदी तालमा दोस्रो पटक फोटो सहित अभिलेख गरिएको छ । योसँगै पोखरा उपत्यकामा पाइने पन्छीहरुको प्रजाति संख्या ४८८ पुगेको छ ।

पोखरा पंछी समाजले प्रत्येक शनिवार आयोजना गर्ने पंछी अबलोकन कार्यक्रम अन्तर्गत आज गरिएको कार्यक्रममा समाजका सदस्यद्धय अमृत कुमार पौडेल र मिलन बरालले फोटो सहित अभिलेख गरेका थिए । त्यसपश्चात समाजका सदस्यहरु दुर्गा तिमिल्सिना, रामबाबु बस्ताकोटी, रेशम गुरुंग, गौतम नेपाली, मनशान्त घिमिरे, सचेत श्रेष्ठ र मीरा ढकालले पनि चिनियाँ बकुल्ला अवलोकन गरेका थिए ।

आसकोटे बकुल्ला, वस्तु बकुल्ला, मझौला सेतोबकुल्ला र सानो सेतोबकुल्लाको समुहमा चरिरहेको अवस्थामा प्वाँखावस्था परिवर्तन गर्दै गरेको एक उक्त बकुल्ला फेला परेको हो । प्रजनन समयमा बाहेक आसकोटे बकुल्लाझैँ देखिने यस बकुल्ला प्रजनन प्वाँखावस्थामा टाउको, घाँटी र छातिमा हुने कटुसे रंगले पहिचान हुने गर्दछ । मुख्यतः चीन, दक्षिण कोरिया र जापानको रैथाने यस बकुल्ला नेपालका लागि भने फिरन्ते प्रजाति हो ।
नयाँ चराहरुको आगमन र अभिलेखले पोखराका सिमसार र वनजंगल चराहरुका लागि महत्वपूर्ण रहेको र तिनको संरक्षण आजको आवश्यकता रहेको पुनः पुष्टी गरेको छ ।

