भोटेकोशी बाढी: ३१५ पर्यटकको उद्धार, ५८३ सम्पर्कविहीन

-


     मर्दी न्युज    
     भाद्र १६ गते २०८३ मा प्रकाशित


 रसुवाको भोटेकोशीमा आएको बाढीमा परी हराएका विभिन्न देशका पर्यटकमध्ये ३१५ जनाको उद्धार गरिएको छ ।

बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरले गोसाइँकुण्ड र कैलाश मानसरोवर यात्राका क्रममा हराएकामध्ये १२ देशका ३१५ विदेशी पर्यटकको उद्धार गरिएको जानकारी दिए ।

 उद्धार गरिएकामध्ये सबैभन्दा धेरै भारतीय पर्यटक छन् । हालसम्म भारतका १८७, चीनका १०८, माल्टाका चार, जर्मनीका चार, रुस, टर्की र अमेरिका र इटालीका दुई/दुई स्वीट्जरल्यान्ड, बुल्गेरियाका, ओमान, पोर्चुगलका एक/एक जनाको उद्धार गरिएको छ । 

 यस्तै, विभिन्न देशका ५८३ पर्यटक अझै सम्पर्कविहीन छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा अन्य पर्यटन क्षेत्रका सरोकारवालाले प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएका छन् ।

 घाइते तथा अलपत्र परेकालाई सुरक्षित स्थानमा ल्याउन आवश्यक सबै प्रयास भइरहेको बोर्डले जनाएको छ । बोर्डले ‘पर्यटकको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो’ भन्दै सबैलाई धैर्य र सतर्क रहन आग्रह गरेको छ । बोर्डले जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ तथा पर्यटन प्रहरीको ९८५१२८९४५५ मा सम्पर्क गर्न आग्रह गरेको छ ।