राष्ट्रपति पौडेलको ५५ लाख उपचार खर्च सरकारले बेहोर्ने

-


     मर्दी न्युज    
     असार १९ गते २०८० मा प्रकाशित


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च सरकारले बेहोर्ने भएको छ ।

१२ असारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च बेहोर्ने निर्णय गरेको हो ।

यसअघि भारतमा गरिएको उपचार खर्च आफैँ बेहोर्ने इच्छा व्यक्त गरेको भन्दै राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गरेको थियो । स्वदेशमै हुन सक्ने सामान्य उपचारका लागि विदेश गएको भनी आलोचित पौडेलका तर्फबाट कार्यालयले वक्तव्य जारी गर्दै आलोचना मत्थर गरेको थियो । तर‚ राष्ट्रपतिको तर्फबाट उपचार खर्च तिर्ने पहल भने भएको थिएन ।

परराष्ट्र मन्त्रालयले खर्च निकासाको स्वीकृत अर्थ मन्त्रालयले दिइसकेको जनाएको छ । अर्थ मन्त्रालयको बजेट महाशाखालाई असार १८ गते परराष्ट्र मन्त्रालयले पत्र पठाउँदै भनेको छ, “यथार्थ खर्चको बिल भर्पाई बमोजिमको रकम सम्बन्धितलाई भुक्तानी दिने प्रयोजनका लागि ५५ लाख दुई हजार २ सय ७९ तपसिलको खर्च शीर्षक नम्बर र क्रियाकलापमा बजेट निकासका लागि अर्थ मन्त्रालयमा लेखी पठाउन मिति २०८० असार १८ गते को निर्णय (सचिवस्तर) को प्रतिलिपि र अन्य आवश्यक कागजातहरू यसै साथ संलग्न राखी पठाइएको ब्यहोरा सादर अनुरोध गरिन्छ,” उपसचिव भेषराज भुर्तेलले लेखेको पत्रमा उल्लेख छ ।