
राङखोला, स्याङ्जा । राङखोला तमु समाजमा गुरुङ जातिको ‘खेगी प्ये संकलन/प्रकाशन र हाम्रो दायित्व’बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिवार तमु समाज राङखोलामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ क्याम्ब्रिज विश्वविद्यालयबाट मानार्थ डाक्टर प्राप्त गर्न सफल पच्यु पैंडी चिवा यारजङ क्रोंम्छैं तमुले दिएका थिए ।
पच्यु पैंडी चिवा क्रोंम्छैं तमुले समाजमा विभिन्न आयातित तथा अन्य धर्मको प्रभावमा परी आफ्नो मौलिकता हराउँदै गएकाले त्यसतर्फ समाजका बुद्धिजीवी वर्गहरु सचेत भएर लाग्नुपर्ने बताए । कुनै पनि व्यक्तिले दुईवटा धर्म एकैचोटी मान्न नसक्ने जिकिर गर्दै तमु जातिको मौलिक र उत्कृष्ट प्राकृतिक ‘बोँ’ धर्म भएको बताउँदै अबका खेगीहरुले जनमानसमा प्रष्टसँग राख्न सक्नुपर्ने बताए ।
‘खेगीहरुले कुनै पनि यज्ञ गर्दा शास्त्रीय मान्यता र आधार लिएर मात्र गर्नुपर्छ, शास्त्रीय मान्यताभन्दा बाहिर जानु हुँदैन’ उनले भने, ‘कुनै पनि यज्ञको अर्थ सबै खेगीले जान्नुपर्छ र चोंगीलाई बुझाउन पनि सक्नु पर्छ ।’
खेगी भएर लोभ लालचमा फसी मौलिकतालाई छाड्दै गएकोप्रति पनि उनले चिन्ता व्यक्त गरे । यस्तै खेगी प्ये संकलन तथा प्रकाशन समितिका संयोजक ख्यामबहादुर तमुले प्ये प्रकाशन गर्नुपर्ने कारणबारे प्रष्ट्याएका थिए ।
यसैगरी पुतलीबजार नगरपालिका १२ का वडाध्यक्ष गञ्जसिंह तमुले यस्ता अन्तरक्रिया कार्यक्रमले जातिको पहिचान संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । समाजका अध्यक्ष योगबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा सु. सोमबहादुर तमु, सु. नन्दबहादुर तमु, गौबहादुर तमु, झकबहादुर तमु, ओमप्रकाश तमुलगायतका वक्ताहरुले आआफ्ना मन्तव्य राखेका थिए ।
उक्त अन्तरक्रियामा १५ जनाभन्दा बढी पच्यु खेगी र क्ल्हेप्री खेगी सहभागी थिए । त्यस्तै राङखोला तमु समाज र त्यस आपसपासका गाउँहरु पेल्काचोर, गैरीस्वाँरा, गोँखा, टामा, धिमिरे गाउँलगायतका खेगी तथा चोंगीहरुको पनि उपस्थिति रहेको थियो ।