पाँच अङ्कले बढ्यो शेयर बजार

-


     मर्दी न्युज    
     श्रावण २५ गते २०८० मा प्रकाशित


काठमाडौँ । काराेबार हुने हप्ताको अन्तिम दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से अघिल्लो कारोबार दिनको तुलनामा आज बिहीवार पाँच दशमलव १३ अङ्कले बढेर दुई हजार ६६ दशमलव शून्य पाँच विन्दुमा पुगेको छ ।

आज होटल, जलविद्युत्, लगानी, उत्पादन, म्युचल फन्ड, बीमा, अन्य र व्यापार समूहको शेयर बढेको छ । सबैभन्दा धेरै एसियन लघुवित्तको शेयर नौ प्रतिशत र सिंगटी हाइड्रोको शेयर साढे सात प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै हिमालयन लघुवित्तको शेयर साढे छ प्रतिशत र सुपर मादी हाइड्रो पावर कम्पनीको शेयर मूल्य झन्डै छ प्रतिशतले ओरालो लागेको छ ।

आज दुई सय ६९ वटा कम्पनीका ५५ लाख तीन हजार कित्ता शेयर किनबेच भएका छन् । ५७ हजार सात सय पटक भएका कारोबारबाट दुई अर्ब १५ करोड ६५ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ । सबैभन्दा धेरै सोल्टी होटलको १६ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

शेयर मूल्य सर्वाधिक घट्ने कम्पनीको सूचीमा दोस्रोमा सुपर मादी हाइड्रोपावरको शेयर मूल्य ५ दशमलव ८४ प्रतिशत घटेर रू. ३७१ कायम भएको छ । 

सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सोल्टी होटलले ओगटेको छ । यस कम्पनीको रू. १६ करोड ९५ लाख बराबरको शेयर कारोबार भएको हो । शेयर मूल्य प्रतिकित्ता रू. ४६१ दशमलव  ७० कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने कम्पनीको सूचीमा दोस्रोमा अपर तामाकोशी हाइड्रोपावरको रू. ११ करोड १२ लाख बराबरको भएको छ । 

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । समूहगत परिसूचक बढ्नेमा सबैभन्दा बढी होटल तथा पर्यटन समूह छ । उक्त समूहको परिसूचक २ दशमलव ६७ प्रतिशत वृद्धि भएको छ ।