जगदिशपुर जलाशयः “ठिमाहा फ्यालफ्याले” ले नेपालमा पहिलो पटक बच्चा कोरले

-


     मनशान्त घिमिरे    
     भाद्र ९ गते २०८० मा प्रकाशित


फोटोः सुगम ताम्राकार

अनियमित हिउँदे आगन्तुक तथा बसन्त ऋतुमा वटुवा प्रजातिको रुपमा भेटिने चरा “ठिमाहा फ्यालफ्याले” ले कपिलवस्तुको जगदिशपुर जलाशयमा नेपालका लागि पहिलो पटक वच्चा कोरलेको अभिलेख गरिएको छ ।

पंछी अवलोकनका क्रममा वन्यजन्तु फोटोग्राफर तथा पर्यटनकर्मीद्धय पेम्बा शेर्पा र सुगम ताम्राकारले आज विहान ११ः३० बजे उक्त फ्यालफ्याले ८ वटा गुँडमा बच्चा कोरल्दै गरेका र सयौंको संख्यामा उक्त क्षेत्र आसपासमा उड्दै गरेका भेटेका थिए ।

फोटोः पेम्बा शेर्पा

सन् १९७१ मा सुनसरीवाट नेपालका लागि पहिलो अभिलेख गरिएको यस फ्यालफ्याले कोशी ब्यारेज क्षेत्र, चितवन राष्ट्रिय निकुञ्ज सँगै पोखरा र काठमाण्डौं उपत्यका तथा जगदिशपुर जलाशयमा समेत विरल हिउँदे आगन्तुक तथा वसन्त ऋतुमा वटुवाका रुपमा भेटिएको नेपालका संकटापन्न रातो किताबमा उल्लेख गरिएको छ ।

फोटोः पेम्बा शेर्पा

लामो समय नेपालमा पंछी अध्ययन तथा अनुसन्धानमा विताउनुभएका पंछीविदहरु डा. हेम सागर बराल र हठन चौधरीले यस प्रजातिको हाल सम्म नेपालका विभिन्न स्थानहरुमा विशेष गरि वसन्त ऋतुमा वटुवाको रुपमा अभिलेख भए पनि बच्चा कोरलेको नभेटिएको बताउँछन् । केहि वर्ष अगाडि काठमाण्डौ उपत्यकामा अल्पबयस्क समेत भेटिएको तर उक्त फ्यालफ्याले प्रजनन स्थलवाट आएको वा नेपालमै कतै गुँड बनाएको हुनसक्ने आंकलन पंछीबिदहरुले गरेका थिए ।

नेपालमा समुन्द्री सतहको ७५ देखि ९१५ मिटर उचाई प्रायः अभिलेख भएको यो प्रजातिको यस अभिलेखले पंछीविदहरु एकातिर उत्साहित भएका छन् भने अर्को तिर सुरक्षित रुपमा बच्चा हुर्काएर फर्कन्छन् कि फर्कदैनन् भन्नेमा चिन्ता ब्यक्त गरेका छन् ।

अवलोकनद्वय सुगम ताम्राकार र पेम्बा शेर्पा