बिश्व पर्यटन दिवसको अवसरमा संग्रहालय परिशरको सरसफाइ

-


     मर्दी न्युज    
     ९ अशोज २०८० मा प्रकाशित


पोखरा । ४४औं बिश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा नेपाल पर्वतारोहण संघ मातहत पोखरा महानगरपालिका वडा नं -१७, रातोपैह्रो अबस्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा बृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा संग्रहालय परिसर भित्र पार्किङ एरियाको दक्षिणी भागदेखी मनासलु हिमालको मोडेल सम्मको क्षेत्रका अनावश्यक झाडी फाँड्ने, ब्यबस्थापन गर्ने, प्लास्टिकजन्य फोहोर एकत्रित गर्ने गरिएको थियो।

कार्यक्रममा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय समितिका सदस्यहरु, संग्रहालयको साँधसिमानाका स्थानीय टोल बिकास एवं आमा समुहका प्रतिनिधिहरु, नेपाली सेना महावीर गण रेन्जर ब्यारेक, भगवती दल गण फुलबारी ब्यारेक, सशस्त्र प्रहरी कालिका गण मालेपाटन, संग्रहालयका कर्मचारीहरु गरि दुइसय पचास जनाको उत्साहजनक सहभागिता रहेको थियो।

पोखरा तथा नेपालकै महत्त्वपूर्ण पर्यटकीय आकर्षणको केन्द्र यस संग्रहालयमा सिमित सरसफाइ कर्मचारी रहेको र परिसर ठूलो भएकोले समय समयमा सुरक्षा निकायहरू संग समन्वय गरि सरसफाइ गर्ने केहि बर्ष अगाडिदेखिकै प्रचलन रहेको र यसपटक पनि निरन्तरता दिइएको संग्रहालयकि कार्यकारी निर्देशक निर्मला कुमारी न्यौपानेले मर्दी न्युजलाई बताईन्।