
पोखरा, १८ असोज । जल तथा मौसम विज्ञान विभागले आज बिहीबारदेखि मौसम क्रमिकरूपमा सुधार हुँदै जाने जानकारी गराएको छ ।
विभागका मौसमविद् गोविन्द झाका अनुसार नेपालको पूर्वी क्षेत्रमा केही बदली बाँकी नै रहने र अन्य क्षेत्रबाट क्रमिक सुधार हुँदै जाने बताए ।
“तर पनि दुईदिन अघिको जस्तो लगातार झरी हुन्न, केही समय पानी पर्ने र केही समय घाम पनि लाग्ने हुन्छ, पूर्वमा मात्रै अलिकति बाँकी छ, अब आजदेखि भारी वर्षा भने हुन्न”, उनले भने ।
विभागका अनुसार नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।
अहिले बिहान कोशी र मधेश प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।