गण्डकी र लुम्बिनी प्रदेशबाट पनि बाहिरियो मनसुन

-


     मर्दी न्युज    
     २८ अशोज २०८० मा प्रकाशित


पोखरा । गण्डकी र लुम्बिनी प्रदेशबाट पनि मनसुन बाहिरिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार शनिबार ती दुई प्रदेशका अधिकांश भूभागबाट मनसुन बाहिरिएको हो।

यसअघि सुदूर–पश्चिम प्रदेश र कर्णाली प्रदेश साथै लुम्बिनीप्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशको पश्चिमी भू–भागबाट मनसुन बाहिरिएको थियो।

यस्तै शनिवार बागमती र मधेस प्रदेशको धेरैजसो भूभागबाट पनि यस वर्षको मनसुन बाहिरिएको छ । नेपालका बाँकी भूभागबाट केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाको भनाइ छ । मनसुन बाहिरिने क्रममा रहेको भए पनि पश्चिमी वायुको प्रभावका कारण सोमबारदेखि बुधबारसम्म नेपालमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना छ । आइतबार रातिदेखि पश्चिम वायुको एक प्रणाली आउने भएकाले छिटफुटदेखि हल्का वर्षाको सम्भवना रहेकाले तत्काल धान नकाट्न र काटेको भएमा आइतबारसम्ममा भित्र्याइ सक्न मौसमविद् प्रतिमा मानन्धरको भनाइ छ ।

उनका अनुसार पूर्वबाट मनसुन बाहिरन अझै केही दिन लाग्ने भएकाले बुधबार पछिबाट मात्रै मौसममा सुधार हुने बताए । नेपालको पूर्वी भूभागमा मात्रै मनसुनी वायुको आंशिक प्रभाव कायम छ । सामान्यतया अक्टोबर २ तारिखमा नेपालबाट मनसुन बाहिरी सक्नुपर्ने भए पनि आज अक्टोबर १४ तारिख भइसक्दा मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिसकेको छैन । पानी नपरेका कारण वायुमा प्रदूषण र कणहरु बसेकाले दिउँसोपख आकाश खुले पनि बिहान÷बेलुका धुम्म हुने मौसमविद् गोविन्द झाको भनाइ छ ।

हाल देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागको मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रही कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।