महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्ती आज मनाइँदै

-


     मर्दी न्युज    
     कार्तिक २६ गते २०८० मा प्रकाशित


लक्ष्मीप्रसाद देवकोटाको शालिकमा माल्यार्पण महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्तीका अवसरमा आज सङ्खुवासभाको खादबारी –१ स्थित कोटगाउँ टोलमा अवस्थित देवकोटाको शालिकमा माल्यार्पण गर्दै प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की । तस्बिर ः भविन कार्की/रासस

काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १५ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

महाकवि देवकोटाको जन्म विसं १९६६ सालमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

उनले नेपाली साहित्यलाई सयभन्दा धेरै कृति दिए । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाए । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्त्वपूर्ण योगदान दिएका छन् ।

विसं २०१६ मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराएका थिए । अहिलेको त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको जग्गा पनि उनकै शिक्षामन्त्रीत्वकालमा व्यवस्था गरिएको हो । जसले विश्वविद्यालयको पूर्वाधारका लागि काम गरेको छ ।

वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाको अविस्मरणीय देन मानिन्छ । २००४ सालमा देवकोटा सर्नुभएको मैतीदेवीको उनको घरलाई महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयका रूपमा स्थापित गरिएको छ । नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान गरेका देवकोटाको निधन २०१६ साल भदौ २९ गते भएको थियो ।