
फोटो: सचेत प्रभात श्रेष्ठ
पोखरा । हिउँदे आगन्तुक तथा रैथाने पानीमा आश्रित पंछीहरुको गणना पोखरा उपत्यकामा यहि पौष २५ र २६ गते हुने भएको छ ।
सिमसार, तालतलैया, नदीनालामा आश्रित जलपंछीको अवस्था, हिउँदे आगन्तुक जलपंछीको संख्या र प्रजातिको विवरण पत्ता लगाई स्थानिय समुदाय र सरोकारवाला निकायहरुलाई सहभागी बनाई सचेतना अभिवृद्धि गर्न हातेमालो गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको गणनाका पोखरा उपत्यका क्षेत्रिय संयोजक तथा पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए ।
नेपालमा सन् १९८७ वाट शुरु भएको जलपंछी गणना सन् २००४ वाट पोखरा उपत्यकामा टाइगर माउण्टेन पोखरा लजको अगुवाईमा गरिदै आएकोमा सन् २००७ वाट पथप्रर्दशकहरुको ब्यापक सहभागिता तथा नेपाल पंछी संरक्षण संघ अन्र्तगत वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसका विद्यार्थीहरु र सन् २०१५ वाट पोखरा पंछी समाजको प्रत्यक्ष संलग्नता रहेको छ । उपत्यकाको जलपंछी गणनाको २० औं वर्षमा प्रवेश गरि रहँदा जलपंछीको सख्या तथा प्रजातिमा ब्यापक हेरफेर रहेको लजका नेचुरलिस्ट झलक चौधरीले बताए ।
नेपालमा पाईने विश्वमै दुर्लभ रहेका ४२ प्रजातिका पंछीहरु मध्ये १३ वटा जलपंछी रहेका छन् । पूर्व मेची देखि पश्चिम महाकाली सम्मका ५० भन्दा बढि स्थानमा जनवरीको पहिलो हप्ता देखि तेस्रो हप्ता सम्म जलपंछीको गणना गरिने एशियन वाटरफल सेन्ससका नेपाल प्रतिनिधी डा. हेम सागर बरालले जानकारी दिए ।
उपत्यकामा गरिने गणना पौष २५ गते कमलपोखरी, विजयपुर खोला, गुँदे, खास्टे, न्यूरेनी, दिपाङ, मैदी, बेगनास र रुपातालमा र २६ गते फेवाताल र सिमसार क्षेत्रमा पंछी अवलोकनकर्ता, संरक्षणकर्मी, विद्यार्थी, पत्रकार, सरोकारवालाहरुको सहभागितामा गरिने समाजका अध्यक्ष घिमिरेले जानकारी दिए ।

