नेपालमा ओमिक्रोनको नयाँ सब भेरियन्ट ‘जेएन एक’ पुष्टि

-


     मर्दी न्युज    
     २३ पुस २०८० मा प्रकाशित


नेपालमा ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन एक पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जिन सिक्वेन्सिङ गर्दा नेपालमा पहिलोपटक कोरोनाको नयाँ भेरियन्ट जेएन डट वान पुष्टि भएको जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १६ वटा एन्टिजेन पोजेटिभ नमुनाको जिन सिक्वेन्सिङ गर्दा नेपालमा सातवटा नमुनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन डट वान पुष्टि भएको हो ।

कोभिड–१९ को नयाँ सव भेरियन्टको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सबै हेल्थ डेस्कहरू, स्वास्थ्य कार्यालयहरूमार्फत आवश्यक स्क्रिनिङ र निगरानी निरन्तर गर्न र स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य उपचार व्यवस्थापनको तयारी अवस्थामा रहन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयले कोरोना संक्रमण र सङ्क्रमणको फैलावट रोकथाम गर्नका लागि भिडभाडमा नजान, भौतिक दुरी कायम गर्न, मास्कको प्रयोग गर्न र साबुन पानीले हात धुन पनि सबैलाई अपिल गरेको छ ।

कोभिड–१९ को नयाँ भेरियन्ट जेएन १ परिवर्तित जिन ‘स्पाइक प्रोटिन’ले गर्दा तीव्र र छोटो अवधिमा फैलिने गर्छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार जेएन १ भेरियन्ट पहिलो पटक सेप्टेम्बर अमेरिकामा पत्ता लागेको थियो । यो ओमिक्रोन भेरिएन्टको ‘सब भेरिएन्ट’ हो । विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘भेरियन्ट अफ इन्ट्रेस्ट’ भनेको छ र, विश्वव्यापी रूपमा फैलन सक्ने बताएको छ ।



Tags: