
कावसोती । नवलपुरको कावासोतीमा दोस्रो नेपाल चरा उत्सव सुरु भएको छ । चराको वासस्थानको संरक्षण, जनचेतना सँगसँगै सरोकारवालाहरूलाई जीविकोपार्जनमा टेवा पुग्ने गरी चरा पर्यटनको विकास गर्ने उद्देश्यका साथ कावासोती नगरपालिका–१३ मा आज शुक्रवार २६ गतेदेखि २८ गते तीन दिनसम्म दोस्रो नेपाल चरा उत्सव सञ्चालन गरिएको हो ।
कावासोती नगरपालिकाकी उपमेयर फूलकुमारी थनेतले कार्यक्रमका अध्यक्ष पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेलाई पेनड्राइभ प्रदान गरी कार्यक्रम सुरुआत भएको यो उत्सवमा प्लास्टिकको प्रयोग भएको छैन भने स्टलहरु पनि प्राकृतिमैत्री खालका छन् ।
उद्घाटन मन्तव्य राख्दै उपमेयर थनेतले चरा संरक्षणका लागि वृक्षारोपणसँगसँगै सचेतना फैलाउनुपर्नेमा जोड दिइन् । उनले कावासोती नगरपालिका पक्षी संरक्षणका प्रयासमा सधैं साथमा रहने विश्वाससमेत दिलाइन् । वर्ड एजुकेसन सोसाइटीका अध्यक्ष टीकाराम गिरीले उत्सवले देशैभर चरासँगसँगै पर्यापर्यटन संरक्षणको सन्देश दिने विचार राखे ।
चराको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्नु नै चरा उत्सवको मुख्य उद्देश्य रहेको पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए । ग्रामीण क्षेत्रमा चरा, वन्यजन्तु संरक्षणको सन्देश दिने उद्देश्यले उत्सवको आयोजना गरिएको उनले बताए ।
अवैध चरा सिकार तथा व्यापार, उडान मार्गमा हुने अवरोध, जलवायु परिवर्तन, सुरक्षित आहाराको कमी, कृषिमा प्रयोग हुने रसायनिक मल तथा विषादीको बढ्दो प्रयोगका कारणले पनि चरा लोप हुने अवस्थामा पुगेकाले त्यससम्बन्धी जनचेतना जगाउनु चरा उत्सवको मुख्य लक्ष्य रहेको संरक्षणविद्हरूले बताए ।
पोखरा पंक्षी समाजको आयोजना तथा जटायु रेष्टुरेन्ट व्यवस्थापन समिति र बर्ड एजुकेसन सोसाइटीको सहआयोजनामा तीन दिनसम्म सञ्चालन हुने उत्सवमा पंक्षी अवलोकन, पंक्षी पहिचान तालिम, ट्रेल प्याकेज, फोटो प्रदर्शनी, पंक्षी कला प्रतियोगिता, गिद्धका गतिविधि अवलोकन, जङ्गल सफारी तथा थारु, मुसहर र बोटे समुदायको संस्कृति झल्कने प्रस्तुति रहने चराविद् एवम् जटायु रेष्टुरेन्टका संयोजक डीबी चौधरीले जानकारी दिए।
उत्सवको जैविक विविधताको क्षेत्रमा काम गर्ने ३९ वटा सङ्घसंस्थाका प्रतिनिधि, भारत, भुटान, श्रीलङ्का, मलेसिया, हङकङ, सिङ्गापुर, फिलिपिन्स, जापान, स्वीजरल्याण्ड, अमेरिका, आयरल्यान्ड, बेलायत, ताइवानलगायतका देशबाट टुर अपरेटर, स्थानीय र विद्यार्थीहरूले अवलोकन गर्ने वर्ड एजुकेसन सोसाइटीका अध्यक्ष टीकाराम गिरीले जानकारी दिए । चरा तथा प्रकृतिको अवलोकन, चित्रकला प्रतियोगिता, स्थानीय लोपोन्मुख खेल तथा सांस्कृतिक गीत तथा नाचको प्रदर्शनी गरिएको छ ।
विश्वमै दुर्लभ मानिएका ४३ प्रजातिका चरा पाइने गरेकोमा नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्ज आसपास विश्वमै दुर्लभ मानिएका ३९ प्रजातिका चराहरू पाइने गर्दछ । नेपालमा आठ सय ९४ प्रजातिका पंक्षिहरु पाइन्छन् भने नवलपुरको नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्ज आसपास पाँच सय ६५ प्रजातिका चरा पाइन्छन् ।
