नेपाल फर्केर के गर्ने ?

-


     रासस    
     फागुन ४ गते २०८० मा प्रकाशित


पोखरा, ५ फागुन । नेपाल साहित्य महोत्सवको ‘ब्रेन गेन ? फर्केर के गर्ने ?’ सत्रमा वक्ता स्वर्णिम वाग्ले र शृङ्खला खतिवडा आफ्नो विद्वतासहित प्रस्तुत भए । उनीहरु दुवै विदेशमा ज्ञान, सीप र अनुभव आर्जेर स्वदेश फर्कनेमध्येमा पर्छन् ।

पोखराको फेवाताल किनारस्थित बाराहीघाटमा जारी महोत्सवमा वाग्ले र खतिवडालाई सुन्न दर्शकको उल्लेख्य उपस्थिति रह्यो । पत्रकार सोनिया अवालेले युवाहरुको पलायनलाई कसरी रोक्ने ? भविष्यको खोजीमा देश छाडिरहेका युवाहरू नेपाल फर्केर के गर्ने ? जस्ता सवालमा वाग्ले र खतिवडाबीच बहस गराए ।

प्रतिनिधिसभा सदस्य समेत रहेका अर्थशास्त्री वाग्ले र अमेरिकाको विश्वविद्यालयमा सहरी विकाससम्बन्धी विषय अध्ययन गरी स्वदेश फर्किएकी पूर्वनेपाल सुन्दरी खतिवडाले नेपाली युवाको विदेश पलायनको बाध्यता र उनीहरूलाई स्वदेश फर्काउने उपायबारे मन्थन गरे ।

वाग्लेले नेपाली आप्रवासी तीन किसिमका रहेको भन्दै उनीहरूलाई स्वदेशसँग जोड्न छुट्टाछुट्टै रणनीति तय गर्नुपर्ने धारणा राखे । स्थायीरूपमै विदेश बसोबास थालेका र नेपाली नागरिकता त्यागेकालाई सांस्कृतिक सामित्यताका माध्यमबाट नेपालसँग जोड्न सकिने उनको भनाइ थियो । “दूतावासहरूमार्फत उनीहरूलाई बेलाबेला नेपाल ल्याउने, नेपाली भाषा सिकाउने, पर्यटकीयस्थल घुमाउन पनि सकिन्छ”, उनले भने, “यसले नेपालसँगको सांस्कृतिक र भावनात्मक सामिप्यता बढाउन सघाउ पुर्याउँछ ।”

विदेशमा र नेपालमा पनि केही गर्न चाहनेका लागि आर्थिक, राजनीतिक अधिकारसहित काम गर्ने उचित वातावरण सिर्जना गरिनुपर्नेमा वाग्लेको जोड थियो । “ग्लोबल सिटिजनको अवधारणा अहिले विकास भइरहेको छ, त्यसका माध्यमबाट पनि विदेशमा रहेका नेपालीहरूले कृषि, पर्यटन, सूचना प्रविधिलगायत क्षेत्रमा काम गर्न सक्छन्”, उनले भने, “विश्वबजारका लागि केही गर्छु भन्ने नेपालीका लागि उदार नीति ल्याउनुपर्छ, जसले वैदेशिक लगानीलाई पनि प्रवर्द्धन गर्छ, वैध तरिकाले जुनसुकै देशमा व्यापार–व्यवसाय गर्ने र आम्दानी गर्ने बाटो खुल्छ ।”

विदेशमा अस्थायीरूपमा रोजगारी गरी स्वदेश फर्कनेलाई उनीहरूले ल्याउने सीप र पुँजीको सदुपयोग हुने वातावरण राज्यले सिर्जना गरिदिनुपर्ने वाग्लेको भनाइ छ । “नेपाल फर्केर केही गर्न चाहनेलाई आर्थिक अवसरको खाँचो छ, राज्यले सोहीअनुसारको नीति ल्यानुपर्छ”, उनले भने, “विदेशबाट फर्केर उद्यम गर्न चाहनेलाई बीउ पुँजी दिने भनिए पनि कार्यान्वयनमा आउन सकेको छैन ।”

आजको भूमण्डलीकृत विश्वमा मानिसलाई यत्तिकै एक देशबाट अर्को देशमा जानबाट रोक्न नसकिने वाग्लेले बताए । “युवा पलायनलाई रोक्न आर्थिक र सामाजिक उत्प्रेरणा दिनुपर्छ, आर्थिक अवसर र सुरक्षाको सुनिश्चिता भए सजिलै कसैले देश छोड्दैन”, उनले भने ।

खतिवडाले नेपालमा कुनै भविष्य छैन भनेर नकारात्मक भाष्य सिर्जना गर्न खोजिएको धारणा राखे । अमेरिकामा पढाइ सिध्याएर एकदिन पनि बढी नबसी आफू नेपाल फर्किएको उनको भनाइ छ । “आर्थिकरूपमा सुरक्षित भएकाले पनि मलाई नेपाल फर्कन सहज भयो, सबैको उही अवस्था पक्कै छैन, अहिले नै युवाहरूलाई स्वदेश फर्कनुस् भन्न सकिने स्थिति छैन”, खतिवडाले भनिन्, “युवाहरू स्वदेश फर्कन त चाहन्छन्, उनीहरूले आर्थिक सुरक्षा खोजिरहेका छन्, जुन नेपालमा छैन ।”

खतिवडाले आफू पनि विदेशमै बसेको भए युवाहरूमा थप निराशा बढ्न सक्ने बताइन् । “नेपालमा मैले जुन सामाजिक पुँजी आर्जन गरेकी छु, जुन प्रतिष्ठा छ, त्यसका लागि पनि मेरो भविष्य नेपालमै छ भनेर म फर्केँ”, उनले भनिन्, “नवीन सोच, योजना र मेहनत भएमा नेपालमा पनि मैले अवसरै अवसर देखेको छु ।”

सरकारले रोजगारी दिएन भनेर बढी गुनासो उठ्ने गरेको भन्दै उनले रोजगारी सिर्जनाका लागि राज्यले निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने धारणा राखिन् । “सरकारले रोजगारी दिने होइन, निजी क्षेत्रलाई सहयोग गर्ने हो, रोजगारी निजी क्षेत्रले सिर्जना गर्छ”, उनले भनिन् ।

रोजगारीको खोजीमा विदेशिनु नेपालीका लागि संस्कृति र प्रवृत्ति नै बनेको खतिवडाले सुनाइन् । उनले आधुनिक विश्वमा त्यसको स्वरुप बदलिएको धारणा राखिन् । “बाध्यता र आवश्यकताले धेरै नेपाली युवा विदेश पलायन भइरहेका छन्, अहिलेकै सङ्ख्यामा अझ केही वर्ष युवा विदेश जाने हो भने देश अप्ठेरोमा पर्न सक्छ”, खतिवडाले भनिन्, “कतिपयमा यो देशमा केही हुँदैन, विदेश नै जानुपर्छ भन्ने जबर्जस्त धारणा विकास भएको छ, एकपटक पनि प्रयास नगरी काम पाइएन भन्नेहरू पनि छन् ।”

सम्पन्न मुलुकले श्रम नीतिमा खुकुलोपना ल्याएका कारण पछिल्लो समय नेपाललगायत अल्पविकसित मुलुकबाट रोजगारीका लागि अर्को देश जाने प्रवृत्ति ह्वात्तै बढेको उनले बताइन् । युरोपमा पनि कम विकसित देशबाट युरोपकै सम्पन्नशाली मुलुकमा पलायनको दर बढिरहेको उनको भनाइ छ ।