
पोखरा, १ चैत । गण्डकी प्रदेशको राजधानी पोखरालाई चैत ४ गते पर्यटनको राजधानी घोषणा हुने भएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरको संयुक्त आयोजनामा हुने एक समारोहका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नेछन् ।
लामो समयदेखि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न व्यवसायीहरुले माग गर्दै आएका छन् । चैत ४ गते आइतबार पोखरालाई देशकै पर्यटनको राजधानीको रुपमा घोषणा गर्ने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए । यसका लागि सबै तयारी भइरहेको उनले जनाए ।
बसुन्धरापार्कबाट बिहान करिब १०ः३० बजे सुरु हुने झाँकी सहितको र्याली बाराही घाटमा पुगेर उद्घाटन समारोहमा परिणत हुने छ । बिहान ११ः०० बजे मुल समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सभापतित्व र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्वागत गर्नेछन् । भव्य समारोहका बीच प्रधानमन्त्री प्रचण्डले पोखरालाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा गर्नेछन् ।
पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने निर्णयले पर्यटन व्यवसायमा उत्साह ल्याएको बताए । पोखरा क्षेत्रमा अब लगानी भित्राउन र यहाँको पर्यटन क्षेत्रको लगानी सुरक्षित गर्न थप मद्दत पुग्ने उनको भनाई छ ।