पर्यटकीय राजधानी घोषणाले पोखरालाई के फरक पार्छ ?

-


     रामबहादुर थापा/रासस    
     चैत्र ४ गते २०८० मा प्रकाशित


गण्डकी, ५ चैत । “प्राकृतिक सांस्कृतिक तथा साहसिक क्षेत्रको अद्वितीय सङ्गम पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्दछु”, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिकरुपमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दा समारोहस्थलमा तालीको गडगडाहड गुञ्जिएको थियो । उसो त पोखरेलीले हिजो आइतबार बिहानैदेखि उत्सव मनाइरहेका थिए ।

आफ्नो प्रिय सहर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा उनीहरु झाँकी र नाचगानसहित सामेल भएका थिए । फेवाताल छेउ बाराहीघाटमा उल्लासको माहोल छाइरहेको थियो । पोखरालाई पर्यटकीय राजधानी बनाउने वर्षौँअघिदेखिको सपना पूरा हुँदा पोखरेलीहरु खुसीले गद्गद् थिए । एकापसमा बधाई साटिरहेका देखिन्थे ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने विषय लामो समयदेखि बहसमा थियो । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पटकपटक उक्त घोषणाका लागि सङ्घ सरकारलाई औपचारिक प्रस्ताव गर्दै आएको थियो । प्रदेश सरकारले गत मङ्सिर १२ गते अध्ययन समिति बनाएर काम थालेपछि पर्यटकीय राजधानी घोषणाको योजनाले मूर्त रुप पाएको हो । प्रधानमन्त्री प्रचण्डले आइतबार आयोजित भव्य समारोहका बीच उक्त घोषणा गरेको हो ।

त्यस क्रममा उनले पोखरा प्राकृतिक, सांस्कृतिक तथा साहसिक वैभवको सङ्गमका रुपमा रहेको बताए । “विशिष्ट पहिचान बोकेको पर्यटकीय नगरी पोखरालाई मुलुककै पहिलो पर्यटकीय राजधानीका रुपमा घोषणा गर्न पाउँदा विशेष गर्व र हर्षको महशुस भएको छ”, प्रधानमन्त्रीले भने, “यो घोषणाले पोखरा मात्र नभएर, गण्डकी प्रदेश र सिङ्गै देशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास मैले लिएको छु ।”

उनले बहुआयमिक विशेषता र सम्भावनाले भरिएको पर्यटकीय राजधानी पोखराको समग्र विकासमा सङ्घ सरकारको विशेष सहयोग, समन्वय र सहकार्य रहने प्रतिबद्धता जनाए । यसअघि गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा गठित ११ सदस्यीय अध्ययन समितिले गत पुस २६ गते प्रतिवेदनसहित पर्यटकीय राजधानी घोषणा गर्न प्रदेश सरकारलाई सिफारिस गरेको थियो ।

पर्यटन विज्ञसहितको उक्त समितिले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आवश्यक मापदण्ड पूरा भएको औँल्याएपछि उक्त घोषणा गरिएको हो । समितिले पर्यटकीय गन्तव्यको पहिचान तथा प्रचारप्रसार, पर्यटकीय पूर्वाधारको विकास र विविधीकरण, मापदण्ड, सेवाको गुणस्तरलगायत २० सूचकमा टेकेर अध्ययन गरी प्रदेश सरकारलाई प्रतिवेदन बुझाएको थियो । सोही आधारमा गत फागुन २३ को मन्त्रिपरिषद् बैठकले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गरेको थियो ।

अध्ययन प्रतिवेदनले तीन वर्षे, पाँच वर्षे र दीर्घकालीन योजनालाई समेटेको आयोगका उपाध्यक्ष डा देवकोटाले जानकारी दिए । अल्पकालीन रणनीतिअन्तर्गत पूर्वाधार विकास तथा विस्तार, सांस्कृतिक सम्पदाको प्रवद्र्धन र ‘ब्राण्डिङ’ तथा बजारीकरणमा जोड दिइएको उनको भनाइ छ ।

मध्यमकालीन रणनीतिका रुपमा पाँच वर्षभित्र गर्नुपर्ने कामलाई प्रतिवेदनलाई औँल्याएको डा देवकोटाले बताए । “विशिष्कृत पर्यटन विकास, बसोबासका विकल्पको विविधीकरण र व्यावसायिक जनशक्तिको उपलब्धतालाई मध्यमकालीन रणनीतिमा समावेश गरिएको छ”, उनले भने, “दीर्घकालीन रणनीतिमा दिगोपन र समावेशीता, विद्युतीय पर्यटनलगायत विषय समेटिएको छ ।”

डा देवकोटाले पर्यटकीय राजधानी घोषणा सँगैसँगै पर्यटन क्षेत्रको योजनाबद्ध विकासमा सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको धारणा राखे । “गण्डकी प्रदेशको समग्र विकासमा पर्यटन महत्वपूर्ण हिस्सा बन्न सक्छ”, उनले भने, “पर्यटनको राजधानी घोषणा गरेर मात्र हुँदैन, पूर्वाधार, सेवाको गुणस्तर, दक्ष जनशक्ति र लगानी विस्तारमा सम्बद्ध सबै पक्षको ध्यान जान जरुरी छ ।”

पर्यटकीय राजधानी घोषणालाई लिएर फरक कोणबाट समेत टिप्पणी भइरहेको छ । यथेष्ठ पूर्वाधार तयार नभई गरिएको घोषणा दिगो हुन नसक्ने र नागरिकले प्रतिफल नपाउने कतिपयको बुझाइ छ । पर्यटकीय राजधानी घोषणाले पोखरालाई के फरक पार्छ त ? पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले विश्व पर्यटन बजारमा पोखराको ‘ब्राण्डिङ’ हुने बताए । पोखरेली पर्यटन व्यवसायीहरुको वर्षौँदेखिको माग पूरा भएकामा उनले खुसी व्यक्त गरे ।

“पोखरा यसै पनि पूर्वाधार सम्पन्न पर्यटन गन्तव्य हो, पर्यटकीय राजधानी घोषणाले पोखराको समग्र विकासमा थप मद्दत पुग्छ, तीनै तहका सरकारको वार्षिक बजेट तथा कार्यक्रममा प्राथमिकता पाउने हाम्रो विश्वास छ”, उनले भने, “यो घोषणाले पोखरा मात्रै नभएर सिङ्गो देशकै आर्थिक समृद्धिमा दूरगामी महत्व राख्छ ।”

पर्यटकीय राजधानीको ओज र गरिमा धान्न पोखरा सक्षम रहेको अध्यक्ष श्रेष्ठले बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरदेशीय उडान र चीनसँगको कोरला नाका नियमित सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । “कोरला नाका खुलेमा व्यापार र पर्यटनबाट नेपालले नसोचेको फाइदा लिन सक्छ, कैलाश मानसरोबर जाने पर्यटकलाई पनि मुस्ताङ हुँदै लैजान सकिन्छ, यो मार्ग छोटो पर्छ”, उनले भने । अहिले पनि बर्सेनि भारतीयसहित हजारौँ विदेशी पर्यटक मुस्ताङ पुग्छन् । मुक्तिनाथ विश्वभरका हिन्दू धर्मावलम्बीहरुमाझ प्रसिद्ध छ । उनका अनुसार पोखराको पर्यटनमा खर्बौँको लगानी छ । साधारणदेखि पाँच तारेसम्म गरी झण्डै १२ सय होटल पोखरामा सञ्चालित छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटकीय राजधानी घोषणाले गण्डकी प्रदेश र नेपालको पहिचान अन्तर्राष्ट्रिस्तरमा पुग्ने विश्वास व्यक्त गरे । “पर्यटकीय राजधानी घोषणाले पर्यटन व्यवसायीमा उत्साह र उर्जा थपिनेछ, पोखरामा बाह्य तथा आन्तरिक लगानीको वातावरण बन्नेछ”, उनले भने, “पोखराको समुन्नतिका लागि तीन तहका सरकार, निजी क्षेत्र र विकास साझेदारसँगको सहकार्य थप प्रभावकारी हुनेछ ।”

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार र पोखरा महानगरपालिकाबीचको सहकार्यमा पर्यटन प्रवद्र्धनमा नयाँ योजना सञ्चालन गरिने बताए । आइतबारदेखि नै पोखराको मुख्य सहरी क्षेत्रमा सञ्चालित रात्रिकालीन व्यवसायलाई चौबिसै घण्टा सञ्चालन गर्ने प्रबन्ध गरिएको उनको भनाइ छ । “राउण्ड पेवा र भ्यू फेवामो ट्रेकिङ ट्रेल छिट्टै बन्दैछ, बेगनास तालमा ‘क्रुज सिप’को सञ्चालनको योजना अगाडि बढेको छ”, मुख्यमन्त्री पाण्डेले भने, “आधुनिक बसपार्क निर्माण, विमानस्थलदेखि पृथ्वीचोकसम्म सटल बस सेवा, ध्यान केन्द्रलगायत निर्माण गर्दैछौँ ।”

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पर्यटन राजधानी घोषणाले यस क्षेत्रका नागरिकको जीवनस्तर सुधार, रोजगारी सिजर्ना र गरिबी निवारणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । आचार्यले तीन तहका सरकार मिलेर पोखरामा पर्यटनका थप पूर्वाधार निर्माण गरिने बताए । “विश्वका विभिन्न सहरलाई आफ्नै विषेशता र पहिचानका आधारमा राजधानी घोषणा गर्ने अभ्यास र परम्परालाईसमेत दृष्टिगत गरेर हामीले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेका हौँ”, उनले सुनाए ।

विद्यमान सबल पक्ष, सुधार गर्नुपर्ने विषय र आगामी कार्यदिशाबारे तथ्यगत र वस्तुगत विश्लेषण गरी पोखरालाई पर्यटकीय राजधानी घोषण गरिएको प्रमुख आचार्यले बताए । “यो घोषणाले तीनै तहका सरकारलाई नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिन बल थप बल पु¥याउनेछ”, उनले भने, “पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार, पूर्वाधार विकास र सुशासनका क्षेत्रमा रणनीति र कार्ययोजना तय गरेर अगाडि बढ्छौँ ।”

यी हुन् पर्यटकीय राजधानी घोषणाका आधार

पर्यटकीय गतिविधि, सहज पहुँच, पर्यटकीय सुविधा, जागरुक निजीक्षेत्र र पर्यटनमैत्री कानूनी संरचनालाई आधारभूत पूर्वसर्त मानेर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सकिने पर्यटन क्षेत्रका विज्ञ बताउँदै आएका थिए । हिमाल र तालतलैयाको अवलोकन, डुङ्गा सयर, अन्नपूर्ण आधार शिविर, मर्दी हिमाललगायतको पदयात्रा, प्याराग्लाइडिङ, जिपलाइन, अल्ट्रालाइट, बञ्जी जम्प, केबुलकार, चरा अवलोकन, विभिन्न सांस्कृतिक मेला, महोत्सलगायत पोखराका पर्यटकीय गतिविधिमा पर्छन् । उत्तरपट्टि लहरै देखिने हिमशृङ्खला पोखराका मुख्य आकर्षण हुन् । तालतलैयाको सहरको उपमा पनि पोखरालाई दिइन्छ ।

फेवा, बेगनास, रुपालगायत मनमोहक ताल यहीँ पर्छन् । प्राकृतिक, भौगोलिक र साँस्कृतिक विविधतायुक्त सौन्दर्यले पोखरा सुसज्जित छ । प्राचीन कला, सभ्यता र सांस्कृतिक पर्यटनका दृष्टिबाट पनि उत्तिकै वैभवशाली छ पोखरा । यहाँका जातीय पर्व, परम्परा र रीतिरिवाजले पनि पर्यटकलाई लोभ्याउने गर्छ । परम्परा झल्काउने गीत, नाच र झाँकी पोखराका सांस्कृतिक धरोहर हुन् । साहसिक पर्यटन गतिविधिमा पनि पोखराको नाम अघि आउँछ ।

पर्यटकस्तरका पाँच सयभन्दा बढी सुविधायुक्त होटल, पोखरा वरपरका डाँडाकाँडामा रिसोर्ट, घरबास पर्यटन (होमस्टे), सुविधायुक्त रेष्टराँ, कफी शप, बार, लाउन्ज बार, सभा–सेमिनारका लागि सभाकक्ष र प्रदर्शनीस्थल पोखरामा छन् । हवाई र सडक दुवै मार्गबाट सहज रुपमा पोखरा आउजाउ गर्न सकिने सुविधा छ ।

पर्यटकको सहजताका लागि पर्यटक बस, ट्याक्सीलगायतको यातायात सेवा पोखरामा उपलब्ध छ । पर्वतारोहण र पदयात्रामा निस्कने पर्यटकका लागि चाहिने उपकरण, पोशाक आदि किनमेलका लागि पसल र डिपार्टमेन्टल स्टोर पनि पर्याप्त रहेका छन् । बैंक, एटीएम सेवा, विदेशी मुद्रा सटहीका लागि काउण्टर उपलब्ध छन् । सङ्कटमा परेका पर्यटकको उद्धार र राहतका लागि हेलिकप्ट सेवासहित स्तरीय अस्पताल पोखरामै सञ्चालित छन् ।

पर्यटकहरुको सेवाका लागि सञ्चालित ट्राभल्स एजेन्सी, ट्रेकिङ एजेन्सीलगायत व्यावसायिक सङ्गठनहरु क्रियाशील छन् । पर्यटन क्षेत्र हेर्ने राज्यका निकाय पनि पोखरामै केन्द्रित छन् । प्रदेश सरकारमा छुट्टै विभागीय मन्त्रालय छ । पर्यटनका यिनै प्रचुरताका कारण पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने आवाज उठ्दै आएको थियो । कोभिड–१९ महामारीअघि नेपाल भित्रने विदेशी पर्यटकमध्ये झण्डै आधा पर्यटकले पोखरा घुम्ने गरेको सरकारी तथ्याङ्कले देखाउँछ ।

आन्तरिक पर्यटनको पनि ठूलो हिस्सा पोखराले ओगट्छ । बर्सेनि करिब १० लाख आन्तरिक पर्यटकले पोखरा घुम्ने गरेको अनुमान गरिन्छ । कोभिड–१९ महामारीयता पर्यटक आगामनको औपचारिक तथ्याङ्क भने कुनै निकायसँग पनि छैन । फ्रान्सेली नागरिक मौरिस हर्जगले सन् १९५० मा पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गरेसँगै पर्यटनमा बामे सरेको पोखरा ७४ वर्षको दौरानमा पर्यटकीय राजधानी बन्न सफल भएको छ ।

पोखरा आउँदा कहाँकहाँ घुम्ने ?

प्रदेश राजधानीसमेत रहेको पोखरा आउने पर्यटकले आसपासका जिल्लामा रहेका गन्तव्यमासमेत पुग्ने गरेका छन् । पोखरामा फेवाताल, बेगनासताल, रुपाताललगायत गरी विश्व रामसार सूचीमा सूचीकृत नौ ताल छन् । पोखरा आउने पर्यटक तालतलैया, हरिया डाँडाकाँडा र हिमाल देखेर लोभिन्छन् । हिमशृङ्खला, अन्नपूर्ण आधार शिविर, पातले छाँगो, विश्व शान्ति स्तुपा, महेन्द्र गुफा, विन्ध्यवासिनी मन्दिर आदि कास्कीका प्रमुख पर्यटकीय गन्तव्य हुन् ।

पोखरादेखि दुई घण्टाको दुरीमा पर्ने बागलुङका गन्तव्यस्थल पनि पर्यटकको रोजाइमा पर्ने गरेका छन् । त्यहाँ कालिका भगवती मन्दिर, ढोरपाटन सिकार आरक्ष, विश्वशान्ति सर्वसिद्धीधाम पञ्चकोट, शालिग्राम सङ्ग्रहालय, घुम्टेको लेक, गलकोट दरबार, गाईघाट झरना, भैरवस्थान मन्दिर, भकुण्डे, गाजाको दहलगायत छन् ।

तिलिचो ताल, अन्नपूर्ण पदमार्ग जस्ता प्राकृतिक सम्पदा, हिमाली जनजीवन र संस्कृतिका कारण मनाङ पर्यटकको रोजाइमा पर्छ । हिमालपारिको जिल्ला मुस्ताङमा प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ, दामोदर कुण्ड, लोमान्थाङ दरबार, प्राचीन गुफा, कलाकृति, धुम्बा ताल, कागबेनीलगायत चर्चित गन्तव्यस्थल छन् । म्याग्दी पनि प्राकृतिक पर्यटनका दृष्टिबाट अगाडि छ । धवलागिरि हिमाल, धवलागिरि आधार शिविर, पुनहिल, घोरेपानी, रुप्से छहरा, अन्ध गल्छी, खोप्रा लेक, गलेश्वरधाम आदि त्यहाँका मुख्य पर्यटकीय गन्तव्य हुन् ।

पर्वतका पर्यटकीय गन्तव्यमा जलजला, हम्पाल, कालान्जर पर्वत, पञ्चासे, गुत्तेश्वर गुफा, सेतीवेणीलगायत पर्छन् । अग्ला र लामा झोलुङ्गे पुलले पनि पर्वतलाई चिनाउँछ । निजी क्षेत्रको लगानीमा सञ्चालित बञ्जी जम्पलगायत साहसिक पर्यटन गतिविधिले पनि पर्वतको आकर्षण बढेको छ । पर्यटकीय गाउँ सिरुबारी, कालभैरव मन्दिर, आलमदेवी, छायाँ क्षेत्र, साल्मे–डाँडाजस्ता गन्तव्यस्थल स्याङ्जाको पर्यटनका आधार हुन् । राम्दीघाट, मिर्मी जस्ता पर्यटकीय आकर्षणका ठाउँ स्याङ्जामा छन् ।

लमजुङमा ऐतिहासिक लमजुङ दरबार, राइनासकोट, इलमपोखरी, घलेगाउँ, भुजुङ गाउँ, काउलेपानीलगायतका पर्यटकीय गन्तव्य छन् । ऐतिहासिक गोरखा दरबार, गोरखा सङ्ग्रहालय, मनकामना मन्दिर, मनास्लु हिमाल, मनास्लु संरक्षण क्षेत्र जस्ता ठाउँले गोरखाको पर्यटकीय आकर्षण बढाएका छन् । व्यास क्षेत्र, तनहुँसुर दरबार, देवघाटधाम, बन्दीपुर, ढोरबराहीलगायत धार्मिक तथा पर्यटकीयस्थल तनहुँमा छन् । मौलाकालिका मन्दिर, त्रिवेणी गजेन्द्र मोक्षधाम, देवचुली जस्ता ठाउँ नवलपुरका आकर्षण हुन् ।



Tags: ,