नेपालले दियो आयरल्यान्डलाई २१४ रनको चुनौती

-


     मर्दी न्युज    
     १९ चैत्र २०८० मा प्रकाशित


काठमाडौँ, १९ चैत । आरिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपाल ‘ए’ ले तेस्रो तथा अन्तिम टि–ट्वान्टी खेलमा आयरल्यान्ड ‘ए’ लाई जितका लागि दुई सय १४ रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय १३ रनको योगफल बनायो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ९३ रनको योगदान दिए । उनले ४८ बल खेल्दै सात चौका र छ छक्काको सहयोगमा अविजित ९३ रनको योगदान गरेका हुन् । त्यसैगरी रासिद खानले २४ रन बनाउँदा पवन शर्राफले १३ रन जोडे । बसिर अहमदले १९ रन बनाए भने कप्तान विनोद भण्डारी ११ रनमा आउट भए । त्यस्तै लोकेश बमले आठ रन जोड्दा देव खनालले ६ रनमा आउट भए ।

बलिङतर्फ आयरल्यान्ड ए का फिन ह्यान्डले दुई विकेट लिए भने लियाम म्याकार्थी ग्यारेथ डेलानी म्याथु फोस्टर र गेभिन होइले समान एक÷एक विकेट लिए । अहिले आयरल्यान्ड ए जवाफी ब्याटिङमा उत्रेको छ ।