
पोखरा । २९ औं वन्यजन्तु सप्ताह विविध कार्यक्रमसहित सम्पन्न भएको छ । वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा रहेका विभिन्न हरित संस्थाहरु र वन्यजन्तु तथा वातावरण संरक्षणमा कामगर्दै आईरहेका अन्य विभिन्न संघ संस्थाहरुको सहकार्यमा आयोजना गरिएको ७ दिने वन्यजन्तु सप्ताह आज सम्पन्न भएको हो ।
कार्यक्रममा वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा प्रा. डा. ई. विनोदप्रसाद हेज्युको प्रमुख आतिथ्यता, सहायक डिन डा. ठाकुर सिलवाल र पोखरा महानगरपालिका वडा नं. १५ का वडा सदस्य वलराम पौडेलको विशेष आतिथ्यता तथा स्वतन्त्र विद्यार्थी युनियनका सहसचिव प्रदिप सापकोटाको आतिथ्यतामा वन्यजन्तु प्रर्दशनी कार्यक्रमसंगै सम्पन्न गरिएको छ ।
वन्यजन्तु सप्ताह कार्यक्रम अन्तर्गत प्रथम पन्चासे पर्यापर्यटन महोत्सव तथा जैविक विविधता सम्मेलन भ्रमण र पन्चासे भदौरेमा चरा अवलोकन, अन्नपूर्ण नेचुरल हिस्ट्री म्यूजियम अवलोकन भ्रमण, सर्प उद्दार र क्यामरा ट्रयाप सम्बन्धि सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा, चमेराहरुको बारेमा सैद्धान्तिक तथा मिस्ट नेटिङ कक्षा, कास्कीका घाचोक र म्याग्दी जिल्लाका विभिन्न ठाउँहरुमा विद्यालय तथा समुदाय शिक्षण प्रशिक्षण, मादी गाउँपालिका वडा नं १ सिक्लेसमा पर्यापर्यटन र जलवायु परिवर्तनका २ र घोरेपानीमा लालिगुँरास संरक्षणमा १ गरि जम्मा ३ वटा होर्डिङ बोर्ड स्थापना, पोखरा महानगरपालिकामा संरक्षण र्याली, लाटोकोसेरो नाच, सप्ताहको अवसरमा पोष्टर, चित्रकला प्रतियोगिता तथा वन, वन्यजन्तु र वातावरणका विभिन्न सामाग्रीहरु समावेश गरेर वन्यजन्तु प्रर्दशनी सम्पन्न गरिएको आयाेजकले जनाएकाे छ ।

वन्यजन्तु सप्ताह मनाउनका लागि वन क्याम्पसका सम्पूर्ण हरित संस्थाहरु मिलेर सप्ताह आयोजना समिति बनाई कार्यक्रम गरिएको आयोजना समितिका सदस्य तथा संरक्षण र विकासका लागि पूर्व विद्यार्थी संस्थाका सदस्य नवराज खत्रीले जानकारी गराए ।
सप्ताहका विभिन्न कार्यक्रमहरु सम्पन्न गर्नका लागि वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस, राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना, मादी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, पोखरा महानगरपालिकालगायतका सरकारी पक्षहरु र प्रकृतिका साथिहरु, पोखरा पंक्षी समाजलगायत अन्य सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको सहकार्य र समन्वयमा सम्पन्न गरिएको उनले बताए ।



