भ्रमणको अर्को पाटोः विमानस्थल सञ्चालनमा सहयोगको अपेक्षा

-


     मर्दी न्युज    
     वैशाख १२ गते २०८१ मा प्रकाशित


कतार एयरवेज नेपालमा विदेशी पर्यटक ल्याउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विमान कम्पनीमा पर्छ । हाल यो नेपाल एयरलाइन्सपछि सबैभन्दा बढी विदेशी हवाई यात्रुलाई सेवा दिने विमान कम्पनी हो ।

कतारको राष्ट्रिय ध्वजाबाहक कतार एयरवेज विश्वकै उत्कृष्ट एयरलाइन्सको रुपमा परिचित छ । यसले दुई सयको हाराहारी जहाजमार्फत एक सय ५० भन्दा बढी मुलुकमा उडान सेवा दिइरहेको छ । कतार एयरवेजले अहिले नेपालमा दैनिक चार उडान भर्दै आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार कतार एयरवेजले सन् २०२१ देखि सन् २०२३ सम्म सात लाख ३३ हजार एक सय ७७ यात्रुलाई नेपाल भित्र्याएको छ भने आठ लाख २३ हजार ६ सय ९३ यात्रुलाई नेपालबाट बाहिर जानका लागि सेवा प्रदान गरेको छ ।

कतारका अमिरको यो भ्रमणबाट भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलदेखि दोहामा हवाई सेवा सुरु हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिरबीच आज भएको भेटवार्तामा पनि सो विषयबारे छलफल भएको थियो ।

“कतार सरकारलाई लुम्बिनी तथा पोखराबाट समेत उडान सञ्चालन गर्ने बारेमा विचार गर्न अनुरोध गर्दछौँ,”, भेटमा प्रधानमन्त्री दाहालले भन्नुभयो । प्रधानमन्त्री दाहालले काठमाडौँ र दोहाबीच हवाई सेवा प्रभावकारी भएको उल्लेख गर्दै कतारका अमिरसमक्ष पोखरा र भैरहवास्थित विमानस्थलबाट पनि दोहामा हवाई सेवा सञ्चालनका लागि आग्रह गर्नुभएको थियो ।