
पोखरा, १५ वैशाख । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं ८, कालिमाटी स्थित अन्नपूर्ण आधारभुत विद्यालयमा अध्ययनरत ५० जना विद्यार्थीहरुलाई १ वर्षको लागि पुग्ने किताब, कापी र सम्पूर्ण खर्च विदेशी दाताहरुले उपलब्ध गराएका छन।
अमेरिका, भारतलगायत विभिन्न १० मुलुकका २२ जना दाता विदेशी पदयात्रीहरुको जम्बो टोली शुक्रवार निजहरुको मर्दी हिमाल पदयात्राको अन्तिम दिन विद्यालयमा नै पुगेर शैक्षिक सामाग्रीहरु तथा पदयात्रीहरुबाट संकलित नगद रकम रुस्तिक ट्राभल्सका प्रतिनिधि राजेश नायरले हस्तान्तरण गरेको हो ।
विद्यालय प्राङ्गणमा गरिएको सँक्षिप्त औपचारिक कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किमलाल दाहाल, प्रधानाध्यापक दिपकराज ढुंगाना, स्थानीय समाजसेवी तथा पर्यटन व्यवसायी शिव भण्डारीको विशेष उपस्थिति रहेको थियो । सम्पूर्ण शैक्षिक सामग्रीको अलावा नगद रु ८५ हजार २ सय हस्तान्तरण गरिएको दाताहरूको संयोजनकर्ता काठमाडौंस्थित जगदम्बा होलिडेजका प्रबन्ध निर्देशक नरेन्द्र बोहराले मर्दी न्युजलाई जानकारी दिए ।
आफुले कामगर्ने कार्यक्षेत्र र कठिन भूगोलमा रहेका विद्यार्थीहरुको लागि सहयोग लिएर जान पाउँदा मन प्रसन्न भएको पोखरेली सहजकर्ता तथा वरिष्ठ ट्रेकिङ गाईड विष्णु देवकोटाले बताए ।

