
कास्की, ३० वैशाख । फेवातालमा बढ्दै गएको जलकुम्भी झारका कारण ताल कुरुप बन्न थालेपछि आजदेखि सरसफाइ अभियानको शुभारम्भ गरिएको छ । वातावरण संरक्षणका लागि महाअभियान कास्कीको आयोजनामा ‘वातावरण एवं सम्पदा संरक्षणमा नागरिक खबरदारी’ को नारासहित अभियान सुरु गरिएको हो । पोखरा महानगरपालिका–१८ खपौदी ढल्केबरबाट डुङ्गा तथा अन्य साधनको मद्दतमा ताललाई ढाकेको जलकुम्भी झार बाहिर निकाल्न सुरु गरिएको थियो ।
वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक एवं नागरिक अभियन्ता रामबहादुर पौडेलले अभियान कम्तीमा दुई साता निरन्तर चल्ने बताए । उनका अनुसार पहिलो दिनमा तालबाट १५ टिप्पर जलकुम्भी हटाइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, सफाइ अभियन्ता र स्थानीयवासी समेत गरेर तीन सयभन्दा बढीको सफाइ अभियानमा सहभागिता थियो ।
अभियानको सशस्त्र प्रहरी गण मालेपाटन (कालिका गण) का प्रमुख एवं प्रहरी उपरीक्षक अरुण शर्माले शुभारम्भ गरेका थिए ।
“विशेषगरी बर्खायाममा जलकुम्भीले ढाक्दा ताल कुरुप हुँदै आएको छ । यसपटक हामीले स्रोतबाट नै जलकुम्भी हटाउने गरी काम थालनी गरेका छौँ,” संयोजक पौडेलले भने । हरेक वर्ष चैतमा हुने जलकुम्भी हटाउने कार्यक्रम यस पटक विविध कारणले ढिला हुन गएको बताइन्छ । अभियानअन्तर्गत सोमबारदेखि दैनिक ४० जनाका दरले जलारी समुदायले ज्यालासहित जलकुम्भी सरसफाइ अभियानलाई निरन्तरता दिने पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले जानकारी दिए ।
पोखरा महानगरपालिकाको सहयोगमा ‘एक जलारी घर एक रोजगारी’ कार्यक्रमअन्तर्गत अभियान सञ्चालन गरिएको हो । उनीहरुले दुई हप्तासम्म बिहान ८ देखि दिउँसो ३ बजेसम्म तालको सरसफाइ गर्नेछन्भने अन्यले समेत स्वयंसेवी रुपमा सहभागिता जनाउन सक्ने बताइन्छ ।