गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

-


     मर्दी न्युज    
     १६ जेष्ठ २०८१ मा प्रकाशित


पोखरा, १६ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

यसअघि उनी विसं २०८० वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

सोमबार सर्वोच्च अदातलतले नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा पाएको विश्वासको मत अवैधानिक भएको ठहर गर्दै पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

केन्द्रीय सत्ता समीकरण बदलिएसँगै अल्पमतमा परेका पाण्डेले प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना नदेखिएपछि २१ चैत २०८० मा राजीनामा दिएका थिए । एमालेका २२, माओवादीका सभामुखसहित ८ र राजीव गुरुङ (दीपक मनाङे)सहित ३१ जना सांसदको समर्थन पुर्‍याएर मुख्यमन्त्री नियुक्ति भएको भन्दै कांग्रेस नेता पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए । अधिकारीले विश्वासको मत लिँदा ३० जनाले मात्र मुख्यमन्त्रीलाई समर्थन गरेका थिए । सभामुखसहित ६० सदस्यीय प्रदेशसभामा सभामुख कृष्ण धितालले अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए । सभामुखको उक्त निर्णयविरुद्ध कांग्रेस नेता पाण्डेले सर्वोच्चमा रिट दिएका थिए ।। संविधानअनुसार विश्वासको मत प्राप्त गर्न ३१ जना सांसदको समर्थन आवश्यक पर्दछ ।

प्रदेशसभामा नेपाली कांग्रेसका २७ सदस्य छन् । मुख्यमन्त्री नियुक्त भएका पाण्डेले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनैपर्ने बाध्यता छ । तर, पाण्डेलाई बहुमत प्राप्त गर्न सहज भने छैन । अधिकारीलाई विश्वासको मत दिने बेला तटस्थ बसेको २ सदस्यीय राप्रपाको जोडे पनि काँग्रेससँग २९ सांसद मात्र हुनेछ ।