गण्डकीको मुख्य न्यायाधिवक्तामा शर्मा

-


     मर्दी न्युज    
     जेठ १७ गते २०८१ मा प्रकाशित


पोखरा, १८ जेठ । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त भएका छन् ।

नेपालको संविधानको धारा १६० को उपधारा (२) को व्यवस्थाबमोजिम गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले शर्मालाई मुख्य न्यायाधिवक्तामा नियुक्ति गरेको हो ।

शर्मा यसअघि पनि सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा मुख्य न्यायाधिवक्ताको जिम्मेवारी सम्हालेको थियो । म्याग्दीको बेनी नगरपालिका–१० का स्थायी बासिन्दा शर्मा विसं २०४८ देखि कानुन व्यवसायमा आवद्ध छन् । बिएल, बिएडका साथै उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेको छ ।

म्याग्दीको महेन्द्र माविमा दुई वर्ष प्रधानाध्यापक रहेका उनी झण्डै १८ वर्ष म्याग्दी बहुमुखी कलेजमा राजनीतिशास्त्र र बिजनेस ल विषय प्राध्यापन गरेका थिए । उनी म्याग्दी जिल्ला नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष समेत हुन् ।