संस्कृतिलाई जोड्दै गुरुङ सम्पदा पदमार्ग

-


     रासस    
     असार १ गते २०८१ मा प्रकाशित


गण्डकी, १ असार । गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ समुदायका प्राचीन बस्तीलाई समेट्दै गुरुङ सम्पदा पदमार्ग (गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल)को प्रवर्द्धन र विकासमा जुटेको छ । जथाभावी बाटो खन्ने नाममा पदमार्ग मासिँदै गएका अवस्थामा सङ्घले गुरुङ जातिको उद्गमस्थल क्होलासोँथरसँगै प्राचीन बस्तीलाई समेट्दै त्यहाँका संस्कार संस्कृतिसमेत पदयात्रा पर्यटनसँग जोड्ने गरी प्रवर्द्धनका कार्यक्रम अघि बढाइएको हो । सङ्घले गुरुङहरूको प्राचीन बस्ती ताङतिङदेखि क्रपुडाँडा–ताप्रो–क्होलासोँथर–ठूलो लेक–थुर्जु–दूध पोखरी–गुरुङ देउराली–डाँफे खर्क–तिमाङ हुँदै बेँसीसहरसम्मलाई समेटेर गुरुङ सम्पदा पदमार्गका रुपमा विकास गर्न खोजेको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले बताए ।

सङ्घले हालै नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय गण्डकी प्रदेश र पदमार्ग क्षेत्रका मादी, क्होलासोँथर, मर्स्याङ्दी र चामे गाउँपालिकाको सहयोगमा यही जेठ २१ गतेदेखि ३० गतेसम्म उक्त क्षेत्रमा १० दिने पदयात्रा अन्वेषण एवं प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको उनले जानकारी दिए ।

मौलिक भाषा, धर्म र संस्कृतिले सम्पन्न गुरुङ समुदायका आफ्नै मातृभाषा, मौलिक पोसाक र लिपि रहेका छन् । आफ्ना संस्कार र संस्कृतिलाई पुस्तौँदेखि संरक्षण गर्दै आएको यो समुदायका घाँटु, सोरठीजस्ता परम्परागत संस्कृति पनि छन् । परम्परागत रुपमा भेडापालनसँगै सिलाइबुनाइलाई मुख्य पेसाका रुपमा अपनाउँदै आएको यो समुदाय वर्तमानमा भने विभिन्न सेवा पेसा व्यवसायसँग आबद्ध भएको पाइन्छ । पछिल्ला वर्षमा पर्यटन क्षेत्रमा आकर्षित यस समुदायका व्यक्तिहरू ठाउँ ठाउँमा आफ्ना प्राचीन गाउँ बस्तीमा घरवास (होमस्टे) सञ्चालन गर्दै आएका छन् ।

गण्डकी प्रदेशको कास्कीस्थित घान्द्रुक, सिक्लेस, ताङतिङ, यान्जाकोट, भाचोक, हेम्जाकोटाजस्ता गाउँहरूका साथै लमजुङका घले गाउँ, भुजुङ, पस गाउँलगायतका स्थानमा घरवास सञ्चालनमा आइसकेको छ । आफ्नो मौलिक संस्कार र संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ गुरुङ पर्यटन व्यवसायी सङ्घले गुरुङ हेरिटेज टुरिजम डेस्टिनेसन विकास गर्न लागेको सङ्घका संस्थापक अध्यक्ष गुरुङले बताए ।

“गुरुङ सम्पदा पदमार्गको प्रवद्र्धन र विकासलाई सङ्घले प्राथमिकता प्राप्त कर्यक्रमका रुपमा लिएको छ”, उनले भने, “हामीले लक्षित गरेको पदमार्ग छोटोमा चार दिनदेखि १२ दिनसम्म लम्ब्याउन सकिने छ ।” उनका अनुसार यस सम्पदा पदमार्ग प्राचीन गुरुङ गाउँहरू ताङतिङ, सिङ्दी, याङ्जाकोट, पसगाउँ, भुजुुङ, घलेगाउँ, सिउरुङ, जगत, तिमाङ आदि जुन सुकै ठाउँबाट सुुरु गर्न सकिन्छ । “गुरुङहरुको धर्म, संस्कृति र परम्परालाई पर्यटनसँग जोडेर संरक्षण र प्रचारप्रसार गर्न गुरुङ पर्यटन व्यवसायी सङ्घले नमुनाको रुपमा गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल अवधारणा ल्याएको हो”, उनले भने ।

गुरुङ सम्पदा पदमार्गलाई प्रकृति र संस्कृतिको सङ्गम थलोका रुपमा विकास गरिने गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष किसमकुमारी गुरुङले बताइन् । गुरुङ समुदायको प्राचीन बस्तीका साथै त्यहाँ रहेका पुख्र्यौली बाटोलाई पदयात्रा पर्यटनसँग जोड्ने आफूहरूको लक्ष्य रहेको उनको भनाइ छ । पदमार्ग क्षेत्रका अनुपम झरना, प्राकृतिक सौन्दर्यतालाई पदयात्रा पर्यटनसँग जोड्ने गरी आफूहरूले प्रयास थालेको उनले बताइन् ।

पदमार्गका माथिल्लो भेगमा क्याम्पिङस्थलको विकाससँगै तल्लो भेगका गाउँका सामुदायिक घरवासलाई जोड्ने योजना रहेको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका महासचिव तुल गुरुङ बताउँछन् । यस पदमार्गले पास गाउँ, भाचोक, याङजाकोट, तान्तिङ, सिक्लेसलगायत स्थानका सामुदायिक घरवासलाई पनि जोड्ने उनले बताए । कास्कीको लमजुुङ हुँदै मनाङसम्म जोडिने यस पदमार्ग क्षेत्रमा परापूर्वकालमा भोटमा नुन लिन जाने मार्गलाई पनि पदयात्रा पर्यटनसँग जोड्न खोजिएको उनको भनाइ छ ।

यस अभियानअन्तर्गत सङ्घले पदमार्ग पहिचानसँगै मानव जीवनका संस्कृति र यहाँको जीवनशैलीका सूचना सङ्कलन, ब्रोसर प्रकाशन गरिने जनाएको छ । प्रवद्र्धन एवं अन्वेषण भ्रमणका क्रममा पर्यटकीय नक्साको लागि जिपिएस डाटा सङ्कलन तथा फोटो तथा फुटेजहरू सङ्कलनका साथै ट्रेल भिडियो, ट्रेल मार्किङसमेत गरिएको जनाइएको छ ।

गुरुङ सम्पदा पदमार्ग गण्डकी प्रदेशका लागि मात्र नभई नेपालकै एक महत्वपूर्ण पदमार्गका रुपमा स्थापित बन्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख नवीन पोखरेलले बताए । वैकल्पिक पदमार्गको खोजी भइरहेका अवस्थामा यस पदमार्ग छोटो दूरीको हाइकिङदेखि लामो दूरीको पदयात्राका लागि पनि महत्वपूर्ण बन्ने अपेक्षा गरिएको उनले बताए ।

यस पदमार्गको प्रवद्र्धन र विकास हुनसकेमा पदमार्ग क्षेत्रमा पर्ने विशेषतः लमजुङ र कास्की जिल्लाका मादी, मस्याङ्दी, क्होलासोँथर, चामेलगायत गाउँपालिकाका स्थानीय बासिन्दासँगै पर्यटन व्यवसायी लाभान्वित बन्ने उनले बताए ।