फेवा सिरानमा ‘रोपाइँ महोत्सव’को तयारी

-


     मर्दी न्युज    
     १२ असार २०८१ मा प्रकाशित


पोखरा । ‘पर्यटन सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ असार १५ गते शनिबार पोखरामा रोपाइँ महोत्सव हुँदैछ । पोखरा पर्यटन परिषद्को आयोजनामा हुने यो महोत्सवको १९ औं संस्करण हो।

पोखरा पर्यटन परिषदले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पोखरा महानगरपालिका– २३ मार्गी स्थित फेवाफाँटमा महोत्सव हुँदैछ । हरेक वर्ष फरक ठाउँमा यो महोत्सव हुँदै आएको छ।

वर्षायामको यो सिजनमा पोखराको पर्यटनमा अफ सिजन हुने भएकोले पर्यटकलाई आकर्षित गर्न महोत्सव आयोजना गरेको पोखरा पर्यटन परिषद अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठका अनुसार पोखरामा आन्तरिक र बाह्य पर्यटक आगमन बढाउन महोत्सव फलदायी हुने बताए । ‘असारे रोपाँइ महोत्सवले केही विदेशी र धेरै आन्तरिक पाहुनालाई पोखरा तान्न सघाएको छ,’ उनले भने, ‘हिलोमा रमाउन पाउने यो महोत्सवले पर्यटकको बसाईअवधि बढाउन पनि सघाएको छ।’

कार्यक्रम सफल बनाउन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठको संयोजकत्वमा ४५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । महोत्सवका स्थानीय आयोजकका रूपमा पोखरा महानगरपालिका–२३ मार्गी।बगर टोल विकास संस्था छन् । प्रवद्र्धकका रुपमा गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड तथा पोखरा महानगरपालिका छन् ।

नेपालमा असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा मनाइन्छ । पोखरामा हुने रोपाइँ महोत्सवमा विभिन्न कार्यक्रम आयोजना गरिनेछ । हिले दौड, हिले भलिबल, रस्साकस्सी, असारे गीत गायन, हल गौरु दौड प्रतियोगिता। साथै कार्यक्रममा चर्चित गायिकाहरू समीक्षा अधिकारी, बालकाशी गुरुङ र निर्जला गुरुङले सांगीतिक प्रस्तुति दिनेछन् । त्यसैगरी लोकगायक प्रजापति पराजुलीको पनि विशेष प्रस्तुति हुनेछ ।