
पृथ्वीनारायण क्याम्पस, नेपाली शिक्षा विभाग पोखरामा शुक्रबार विद्यावारिधि (Ph.D.) उपाधि प्राप्त गर्नुहुने प्राध्यापकहरूलाई सम्मान तथा बधाई कार्यक्रम सम्पन्न भएको छ ।
विभागमा आबद्ध उपप्राध्यापक बोधराज ढकालले लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन’, उपप्राध्यापक विष्णुप्रसाद शर्माले
नेपाली भाषा कक्षामा सिकाइ सहजीकरण´ र गणेश शर्माले `उत्तरवर्ती नेपाली गजलमा व्यङ्ग्य´ शीर्षकमा विद्यावारिधि (पिएचडी) उपाधि हासिल गर्नुभएको हो ।
उक्त कार्यक्रममा प्रा.डा. रामनाथ ओझा, प्रा.डा. यदुनन्दन उपाध्याय, प्रा.डा. रामचन्द्र पोखरेल र प्रा.डा. नरहरि उपाध्याय गौतम तथा नेपाली विभागका विभागीय प्रमुख डा. यनाथ तिमिल्सिनाले उहाँहरुलाई सम्मानपत्र, दोसल्ला, टीका र फूल प्रदान गरी सम्मान तथा बधाई ज्ञापन गर्नुभएको थियो ।

यस अवसरमा विभागका उपप्राध्यापक सुलोचना खनालले स्वागत मन्तव्य राख्नुभएको थियो भने सदस्य जमुना अर्याल तथा उपप्राध्यापक केशवशरण पराजुलीले पनि बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
विभागमा कुल सदस्य २२ जनामध्ये हालसम्म आठ जना प्राध्यापकले विद्यावारिधि (पिएचडी) उपाधि प्राप्त गर्नुभएको छ भने तीनजना सदस्य विद्यावारिधि अध्ययनरत हुनुहुन्छ ।

कार्यक्रममा भर्खरै विद्यावारिधि सम्पन्न गर्नुभएका उपप्राध्यापक डा. बोधराज ढकाल, उपप्राध्यापक डा. विष्णुप्रसाद शर्मा र सदस्य डा.गणेश शर्माले पनि आफ्नो विद्यावारिधि अध्ययन क्रमका अनुभव सुनाउनु भएको थियो ।
सम्मान तथा बधाई दिने क्रममा सबैजसो प्राध्यापकहरुले अब हामीले आफ्नो योग्यता र क्षमतालाई कक्षाकोठामा अधिकतम प्रयोग गरी सिकारुको सिकाइमा वृद्धि ल्याउनुपर्ने धारणा राख्नुभएको थियो । यसका साथै हाम्रो अध्ययनको योगदान समाजका लागि हुनुपर्नेमा सबैको एकमत थियो ।
कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्वका रूपमा शिक्षाशास्त्र सङ्कायका सहायक क्याम्पस प्रमुख श्री गजेन्द्रप्रसाद चुवाईँले पृथ्वीनारायण क्याम्पस, नेपाली शिक्षा विभागले पनि दर्शनाचार्य (एमफिल) तहको पढाइका लागि आफ्नो योग्यता बनाएकाले अबका दिनमा उच्च तहको पढाइ संचालन गर्न आवश्यक रहेको बताउनुभयो ।

विभागीय प्रमुख उपप्राध्यापक अर्जुनप्रसाद सुवेदीले विभागले अब प्राज्ञिक कर्मलाई उच्च महत्त्व दिनेमा स्पष्ट पार्नुभयो | उहाँले नेपाली शिक्षा विषयको पठनपाठनलाई गुणस्तरीय बनाउँदै पुस्तकालयमा पुस्तकको सङ्ख्या वृद्धि गर्ने, विद्यार्थीहरूको आकर्षण बढाउने र नेपाली शिक्षा विभागलाई भौतिक र शैक्षिक दुवै दृष्टिले समुन्नत बनाउन पहल गर्नेमा जोड दिनुभयो ।
उक्त कार्यक्रमको सहजीकरण उपप्राध्यापक सुरज पौडेलले गर्नुभएको थियो।