तालुधर्से अर्जुनक नेपालको लागि नयाँ प्रजाति

-


     मनशान्त घिमिरे    
     १४ साउन २०८१ मा प्रकाशित


फोटो: सञ्जय था श्रेष्ठ

अन्नपूर्ण संरक्षण क्षेत्रको समर गाउँमा तालुधर्से अर्जुनकको नेपालका लागि पहिलो अभिलेख गरिएको छ । यहि श्रावण महिनाको २ गते भेटिएको उक्त अर्जुनकले नेपालमा चराको प्रजाति ८९६ पुर्याएको छ ।

पंछी अवलोकन तथा फोटोग्राफीका लागि उक्त क्षेत्रमा पुगेका पर्यटनकर्मी, पंछीविद तथा फोटोग्राफरद्धय सञ्जय था श्रेष्ठ र शंकर तिवारीको टोलीले विहानी पखको समयमा उक्त प्रजातिको अवलोकन, फोटो तथा भिडियोहरु संकलन गरि हेर्दा नयाँ प्रजातिको चरा भनि अनुमान तथा प्रारम्भिक पहिचान गरेका थिए ।

त्यस पश्चात नेपाल पंछीविद् संघ अन्र्तगतको नेपाल वर्ड रेकर्ड कमिटीमा आवश्यक डकुमेण्टहरु पठाई देश तथा विदेशका पंछीविद्हरुको समुहले दिएका राय, सल्लाह, सुझावहरु वाट उक्त चरा Spotted Flycatcher रहेको र प्रजाति नेपालका लागि नयाँ भएको घोषणा गरिएको थियो ।

साधरणतया युरोप देखि रसिया, चीन मंगोलिया एवं इरान, पाकिस्तान, अफगानिस्तानको रैथाने प्रजाति उत्तर तथा दक्षिण अफ्रिका र भारतको केहि स्थानमा विचरण गर्ने उक्त अर्जुनक नेपालका लागि ग्रिष्मकालिन बसाई सराईको फिरन्ते प्रजाति हुन सक्ने अनुमान गरिएको नेपाल वर्ड रेकर्ड कमिटीका अध्यक्ष डा. तुल्सी सुवेदीको हस्ताक्षरित प्रेस विज्ञप्तीमा जनाईएको छ ।

टाउकामा लाम्चा धर्साहरु, छाती तथा पेटको भाग सेतो, माथिल्ला भाग नीलो खैरो खैरो, खुट्टा काला र छोटा, लामा मजबुद कालो ठूँड, लामा र पातलो पुच्छर, आँखाको रंग कालो तथा साँघुरो फिक्का आइरिंग रहने यो प्रजाति नेपालमा भएका अर्जुनक परिवारको २४ औं प्रजातिमा रहेको छ ।

भक्तपुरको मनोहरा खोला क्षेत्रमा सर्वाधिक चराहरुको अभिलेख गर्ने था नेपालका कुशल पंछी फोटोग्राफर पनि हुन भने विगत ३० वर्ष भन्दा चराको क्षेत्रमा लागेका तिवारीले केहि महिना अघि नेपालका लागि नयाँ प्रजातिको चरा फुस्रो सारौंको अभिलेख समेत गरेका छन् ।