
पोखरा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभावसंगै बङ्गालको खाडीको उत्तरपूर्वतर्फ रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ।
अहिले बिहान कोशी र मधेश प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू–भागको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

