तमु साँस्कृतिक प्रतिष्ठानद्वारा छात्रवृत्ति वितरण

-


     मर्दी न्युज    
     असाेज ४ गते २०८१ मा प्रकाशित


तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा शैक्षिकसत्र २०८१ को लागि “तमु विद्यार्थी छात्रवृत्ति वितरण कार्यक्रम” यही असोज ३ गते, बिहीबार पोखरा फिर्के स्थित पोखरा इन्जिनियरिङ कलेजको सभाहलमा सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि सोसल पब्लिक स्कुलका संस्थापक प्रबन्ध निर्देशक खिमबहादुर तमुले छात्रवृत्ति प्राप्त गर्न सफल हुनु भनेको गरिब भएको कारण नभइ आफ्नो क्षमता र दक्षताले हो भन्नुभयो । तमुले यसरी सफलता हासिल गरेका विद्यार्थीलाई उच्च शिक्षा हासिल गरि आफू योग्य बनेर राष्ट्रको लागि योगदान पुर्याउने स्वप्न देख्न पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा चण्डी डाँडा मा.वि. का शिक्षक दिप्तीदत्त अधिकारी, प्रतिष्ठानबाट छात्रवृत्ति प्राप्त विद्यार्थीहरु सूर्योदय मा.वि. घाम्राङ, लमजुङमा कक्षा ९ मा अध्ययनरत स्वप्निमा तमु, माउन्ट अन्नपूर्ण मा.वि. नदीपुर, पोखरामा कक्षा ११ अध्ययनरत पूर्णिमा तमुले मन्तव्य राखेका थिए ।

कार्यक्रममा कास्की, तनहुँ, स्याङ्जा, पर्वत र लमजुङको पश्चिमी भेगका ८७ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो । असोज ५ गते शनिबार गोर्खा र लमजुङमा छात्रवृत्ति वितरणका लागि कार्यक्रम तय गरिएको कुरा संस्थाका अध्यक्ष चित्रबहादुर तमुले जानकारी दिए ।

हालसम्म ४४८ जना विद्यार्थीहरु यस छात्रवृत्ति कार्यक्रमबाट लाभान्वित भइसकेका छन् भने यो बर्ष १८७ जना विद्यार्थीहरुले छात्रवृत्ति पाइरहेका छन् । कक्षा ९ देखी१२ कक्षासम्म लगातार ४ बर्ष छात्रवृत्ति प्राप्त गर्ने यस कार्यक्रम अनुसार यो शैक्षिकसत्रमा ८४ जना कक्षा ९ का लागि नयाँ विद्यार्थीहरु लिखित र मौखिक परीक्षाबाट प्रतिस्पर्धा गरि छनौट हुन सफल भएका हुन् ।

संस्थाका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा प्रथम उपाध्यक्ष श्रीजङ तमुले स्वागत मन्तव्य दिएका थिए भने सचीव कन्चन तमुले कार्यक्रम सन्चालन गरेका थिए ।

कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधिहरु, सल्लाहकारहरु, संस्थापक सदस्यहरु, अक्षयकोष दाताहरु, शिक्षक तथा अभिभावकहरु र विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।