मर्दी हिमालका अग्रणी स्व. गौतमको सालिक अनाबरण

-


     मर्दी न्युज    
     असाेज २४ गते २०८१ मा प्रकाशित


मर्दी हिमाल पर्यटन पदमार्गका पायनियर तथा अवधारणाकार साथै होटल ट्रेकर्स प्याराडाइज मर्दी हाइक्याम्प र ट्रेक इन्साइड नेपालका संचालक अग्रज पर्यटन ब्यबसायी स्व. सुदिप गौतमको अर्धकदको शालिक एक कार्यक्रमका बिच मर्दी पदमार्गको खुदारसिंग भन्ने स्थानमा हिजो २०८१ असोज २३ गते अनावरण गरिएको छ।

बि सं २०७९ साल असोज १४ गते शुक्रबारका दिन मर्दी हाइक्याम्प भन्दा केहि माथी खानेपानीको पाइप मर्मत गरि पानीको आपूर्ति सुचारु गर्नजाने क्रममा भिरमा चिप्लिएर गौतमको दु:खद निधन भएको थियो।

वैदिक बिधीद्वारा गरिएको शालिक अनावरण तथा प्राण प्रतिष्ठा कार्यक्रममा गरिएको संक्षिप्त औपचारिक कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभाषद माननीय प्रकाश बरालले स्व. गौतमले यश क्षेत्रको पर्यटन बिकाश तथा प्रवर्द्धन र समाजको आर्थिक रुपान्तरणमा पुर्याएको योगदानको चर्चा गरेका थिए।

सिदिङ्ग गाउँको स्वास्थ चौकी, विद्यालय तथा विद्यार्थीहरु प्रति लगाएको गुन, बाटोघाटो निर्माणमा देखाएको अग्रसरताहरुको स्मरण गर्दै स्व. गौतमले देखाएको बाटो अबलम्बन गर्नुनै उहाँप्रतीको सच्चा श्रद्धाञ्जली हुने बरालले बताए।

कार्यक्रमका बिशेष अतिथि माछापुच्छ्रे गाउँपालिका प्रमुख मीन बहादुर गुरुङले आफू निर्वाचित भएर आएपछि एउटा प्रक्रिया पुर्याएर स्व. गौतमलाई गाउँ पालिकाको पर्यटन बिज्ञको रूपमा नियुक्त गर्ने चाहना भएपनि त्यस्ले मुर्तरुप लिन नसकेकोमा दुःख व्यक्त गर्दै शालिक निर्माणमा गाउँपालिकाले सक्दो सहयोग पुर्याएको बताए।

गौरी शंकर मनिलाल माबिका पुर्व प्रधानाध्यापक तथा समाजसेवी कुलप्रसाद अधिकारीले संचालन गरेको कार्यक्रमको अध्यक्षता स्व. गौतमका पिता रेशमलाल गौतमले गरेका थिए भने स्व. गौतमकि धर्मपत्नी कबिता अर्याल गौतमले शालिक निर्माण र अनावरणमा सहयोग पुर्याउनुहुने महानुभावहरु र संघसंस्थालाई धन्यवाद ज्ञापन गरेकी थिईन्।

कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारी, विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरु, मर्दी पदमार्गका होटल ब्यबसायिहरु, नेपाल पर्वतारोहण संघ-गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निर्देशक कुन्दन मिश्र, टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्य र गौतम परिवारका शुभचिन्तकहरुको उपस्थिति रहेको थियो।