
विकास निर्माणका ठूला र समानान्तर भौतिक संरचना गिद्धका लागि चुनौती बन्दै गएको विज्ञहरुले औंलाएका छन् । लुम्बिनी प्रदेशको राजधानी भालुवाङ, दाङ्गमा आयोजित सरोकारवाला निकायहरु बीच आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताईएको हो ।
कार्यक्रममा नेपालमा गिद्धको अवस्था र वर्तमान चुनौती बारे पोखरा पंछी समाजका साचिव हेमन्त ढकालले आफ्नो प्रस्तुति राख्दै पशु उपचारमा प्रयोग गरिने पिडानाशक औषधी डाईक्लोफेनेकको प्रतिबन्ध र अन्य संरक्षणका कार्यक्रमहरुले पछिल्ला वर्षहरुमा गिद्धको सङ्ख्या सुधारउन्मुख देखिएपनि सिनोमा विष हाल्ने र विधुतीय तारहरुमा ठोक्किएर र करेन्ट लागेर गिद्धको मर्ने दर बढ्दै गएको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशमा गिद्धका लागि महत्वपूर्ण क्षेत्र र स्याटेलाइट ट्याग गरेका गिद्धहरुको विचरण क्षेत्र बारे प्रस्तुति राख्दै नेपाल पंछी संरक्षण संघका गिद्ध संरक्षण कार्यक्रम अधिकृत देउ बहादुर रानाले लुम्बिनी प्रदेश गिद्धका गुँड सङ्ख्याका हिसाबले नेपालकै उच्च घनत्व भएको प्रदेश रहेको जानकारी दिए । नेपाल पंछी संरक्षण संघको अध्ययन अनुसार पछिल्लो पन्ध्र वर्षमा सात प्रजातिका गिद्ध करिब १४० को सङ्ख्यामा विधुतीय तारहरुमा ठोक्किएर र करेन्ट लागेर मरेको उनले बताए । त्यसै गरि उक्त समयमा सिनोमा राखिएको विषका कारण २२४ गिद्ध मरेको जनाए ।
गिद्धको अनुगमन र गणनाको लागि तयार गरिएको मोबाईल एप्सको प्रयोग र महत्व बारे आँखीझ्याल टेक्नोलोजीजका निर्देशक इ. पारश देवकोटाले प्रस्तुति राख्दै एप्सको प्रयोग बाट देश भरिको गिद्धको वितरण र सङ्ख्याबारे तथ्यांक संकलन गर्न सकिने बताए । यसरी संकलन गरिएको तथ्यांक र जानकारीका आधारमा गिद्धको महत्वपूर्ण बासस्थान र विचरण क्षेत्रको पहिचान गर्न सकिने र ती क्षेत्रमा भावी दिनहरुमा विकास निर्माणका भौतिक संरचनाहरु गिद्ध मैत्री बनाउन सहयोग पुग्ने बताए ।
कार्यक्रममा नेपाल पन्छीविद संघका अध्यक्ष हठन चौधरीले समुदायमा आधारित संरक्षण अभियानका कारण गिद्ध संरक्षणमा प्राप्त गरेको सफलतालाई दीर्घकाल सम्म टिकाई राख्न बहुसरोकारवाला निकायहरु बीचको सहकार्यमा जोड दिए । प्रकृतिका साथीहरु संस्थाका कार्यसमिति सदस्य तथा गिद्ध बिज्ञ कृष्ण भुसालले अर्घाखाँची जिल्ला र समग्र लुम्बिनी प्रदेशमा बिगत पन्ध्र वर्षको अध्ययनमा गिद्धको सङ्ख्या र तिनको गुडसङ्ख्या स्थिर देखिएपनि चुनौती थपिदै गएको औल्याए । नेपालमा प्रजनन गर्ने ६ प्रजातिका गिद्धहरु मध्ये सबै ६ प्रजातिले लुम्बिनी प्रदेशमा गुँड बनाएर बच्चा कोरल्छन् ।

पोखरा पंछी समाजको आयोजनामा आयोजित प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि, लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले विकास निर्माणका कामहरु वातावरण मैत्री बनाउनुपर्नेमा जोड दिए । दुर्लभ हुँदै गएका गिद्ध र तिनको बासस्थान संरक्षणमा तिनै तहका सरकार, समुदाय, संरक्षण साझेदार संघ(संस्था, अनुसन्धानकर्ता र आम सरोकारवाला निकाय बीच समन्वय र सहकार्य जरुरी रहेको बताए ।
रुफोर्ड फाउन्डेसनको सहयोगमा आयोजित उक्त कार्यक्रमको समापन गर्दै पोखरा पंछी समाजको अध्यक्ष मनशान्त घिमिरेले विकास निर्माणको कामहरु गर्दा तिनले वातावरणमा पार्ने प्रभाव र न्यूनिकरणका विषयमा सत्य र तथ्यपरक रुपमा वातावरणीय प्रभाव मूल्यांकन गर्नु पर्नेमा जोड दिए ।