लेबनानको बालबेकमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु

-


     रासस/क्यूएनए    
     १६ कार्तिक २०८१ मा प्रकाशित


बेरुत, १६ कात्तिक । पूर्वी लेबनानको बालबेक र वरपरका सहरहरूमा भएको इजरायली हमलामा परी ११ जनाको मृत्यु हनुको साथै १४ जना घाईते भएको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले बिहिबार जनाएको छ ।

एजेन्सीका अनुसार बालबेक जिल्लाको बुडे गाउँको एउटा घरमा इजरायली आक्रमणले एकै घरका श्रीमान, श्रीमती र उनीहरूका दुई बच्चाहरूको ज्यान गएको हो ।

स्रोतका अनुसार अर्को आक्रमणमा मकनेह गाउँमा आमाबाबु र उनीहरूका चार सन्तानसहित छ जनाको परिवारको मृत्यु भएको थियो भने अन्य छ जना घाइते भएका थिए ।

यसै गरी बालबेक सहरको दक्षिणी प्रवेशद्वारमा चारवटा इजरायली हवाई आक्रमणले एक महिलाको ज्यान लिनुका साथै अन्य पाँच जना घाइते भएका छन् भने एउटा घर ध्वस्त भएको छ ।

डौरिस सहरको कस्र अल उलुम छिमेकको आवासीय क्षेत्रमा भएको अर्को आक्रमणमा तीन जना घाइते भएका छन् भने विस्फोटबाट नजिकैका दर्जनौं भवन, व्यवसाय र संस्थाहरूलाई क्षति पुगेको छ ।

अहिलेसम्म बालबेक–हर्मेल गवर्नरेट र मध्य बेका क्षेत्रमा इजरायलले एक हजार भन्दा बढी आक्रमणको गरेको छ जसको परिणामस्वरूप ६२८ जनाको मृत्यु भएको छ भने एक हजार ६९ भन्दा बढी घाइते भएका छन् ।