चिनको राजधानी बेइजिङ्गमा हालै सम्पन्न दोस्रो एशियाली चरा सम्मेलनमा सहभागी हुन गएको नेपाली प्रतिनिधी मण्डलले चराको अनुसन्धान र संरक्षणमा काम गर्ने चराप्रेमीहरुलाई चरा हेर्न नेपाल आउन निम्तो गरेका छन ।
आयोजक संस्था इन्सटिच्युट अफ जुलोजी, चाइनिज एकेडेमी अफ साईन्सेजका प्रध्यापकहरु तथा आयोजक समितीका सदस्यहरुलाई भेटी पोखरा पन्छी समाजको टिसर्ट, नेपाल बर्ड फेएरको क्याप, नेपाली ढाका टोपी, नेपालमा पाईने गिद्ध र घाँसे मैदानमा बस्ने दुर्लभ चराको पोष्टर हस्तान्तरण गरी नेपाल भ्रमणको अनुरोध गरीएको पोखरा पन्छी समाजका सचिव हेमन्त ढकालले बताए ।
चार दिन सम्म चलेको उक्त सम्मेलनमा ३९ देशका ५२८ चरा अनुसन्धानकर्ता तथा संरक्षणकर्मी सहभागी थिए भने नेपालबाट ६ जना चरा अनुसन्धानकर्मीले आफ्नो प्रस्तुती राखेका थिए ।
सम्मेलनले इन्सटिच्युट अफ जुलोजी, चाइनिज एकेडेमी अफ साईन्सेजका प्रध्यापक बरीष्ठ चरा बैज्ञानिक फुमिन लिको अध्यक्षतामा एशियन अर्नीथोलोजिकल अलायन्स पनि गठन गरेको छ । यसको लक्ष्य एशियामा पाईने चरा र तिनको बासस्थानको अनुसन्धान र संरक्षणका लागि अन्तरदेशीय सहकार्य र समन्वय गर्ने छ ।
सम्मेलनमा जमिनमा बस्ने र लामो दुरीको बसाईसराई गर्ने चराको अनुसन्धान र संरक्षणमा कसरी सहकार्य गर्न सकिन्छ भन्नेबारे राउन्ड टेबल छलफल पनि भएको थियो । खेतबारी र घाँसेमैदान जस्ता खुला भुभागमा बस्ने चराका प्रजातीहरु प्छिल्ला वर्षहरुमा घटदै गएकोमा तिनको अनुगमन र संरक्षणका कार्यहरु बारे सहभागि बिज्ञहरुले छलफल गरेका थिए ।
चरा र जैविक विविधताको दिगो संरक्षणमा समुदायको सहभागिता, अपनत्व, शसक्तिकरणका साथै सचेतना अभिवृद्धिका लागि नेपाल बर्ड फेएर र लाटोकोसेरो उत्सव जस्ता संरक्षण तथा पर्यटन प्रवद्धनका कार्यक्रमहरु नेपालमा आयोजना हुदै आएकोमा सहभागिताको लागि अन्तराष्ट्रिय समुदायलाई अनुरोध गरीएको प्रकृतिका साथीहरु संस्थाका सचिव कृष्ण भुसालले जानकारी दिए ।
नेपालमा गिद्धको अनुसन्धान र संरक्षणमा भए गरेका कामहरु प्रस्तुत गरेपछी धरै जनाले नेपालका जटायु रेष्टुरेन्टको भ्रमण गर्ने इच्छा व्यक्त गरेको नेपाल पन्छी संरक्षण संघका गिद्ध संरक्षण कार्यक्रम प्रमुख अंकित बिलास जोशीले बताए ।
खासगरी स्थानिय समुदायलाई अग्रसर बनाउदै कठीन भुगोलमा वन्यजन्तुको अनुसन्धान र संरक्षण सफलताका कथाहरु हेर्न र बुझ्न धेरै चिनिया बैज्ञानिक तथा प्रध्यापकहरु नेपाल आउन लालयित हुने थर्डपोल कन्जरभेन्सीका दिक्पाल कर्माचार्यले जानकारी दिए ।