पोखरा । कर्मफ्लाइट्स फाउण्डेसन नेपालले लुम्बिनी प्रदेश अन्तर्गत पर्ने रुकुम (पूर्वी भाग)का २२ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई हालै न्यानो ज्याकेट वितरण गरेका छन् । रुकुमको पुथा उत्तरगङ्गा गाउँपालिकाका २२ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई गत डिसेम्बर ५ देखि १७ तारिखसम्म पैदल यात्रा गरि सम्बन्धित विद्यालयमै पुगेर न्यानो ज्याकेट वितरण सम्पन्न गरिएको फाउण्डेसनले जनाएको छ ।
कर्मफ्लाइट्स फाउन्डेसन नेपाल, एसडब्लूएन र मेटल फर नेपालको आर्थिक साझेदारी, कर्मफ्लाइट्सको व्यवस्थापन तथा पुथा उत्तरगङ्गा गाउँपालिकाको समन्वयमा हिमाली जिल्ला रुकुम (पूर्वी भाग)का विद्यार्थीको पठन अभियानमा सहजीकरण गर्न न्यानो ज्याकेट परियोजना सञ्चालन गरिदै आएको कुरा संस्थाका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले बताए ।
यो वर्षको न्यानो ज्याकेट परियोजना अन्तर्गत जनप्रिय आवि घुम्लिबाङमा १०१ जना, उत्तरगङ्गा आवि उपल्लोसेरामा ९१ जना, जनता आवि तल्लोसेरामा २० जना, ज्योति आवि फल्नैमा २३ जना, दुर्गा आवि गर्खानीमा ४३ जना, पर्वत मावि कोलमा २८८ जना, पहाडी आवि छमारीमा १६ जना, जनसेवा आवि गोलखाडामा ५५ जना, डिग्रे आवि पानीचौरमा ४८ जनालाई वितरण गरिएका छन् ।
यस्तै सिद्धमण्डली माविमा ३५६ जना, आधारभूत विद्यालय नाखामा ८० जना, सानोभेरी आधारभूत विद्यालय खारखोलामा ७३ जना, जनसहयोग मावि रिवाङचौरमा २२० जना, सृजनशील बालविकास केन्द्र खराङमा १९ जना, लालपाटन आवि चुमामा ३६ जना, बालकल्याण आवि घरेलुटाकुरामा २९ जना, आधारभुत विद्यालय घुर्बाङमा २९ जना, जनज्योति मावि जाङमा १७१ जना, बालविकास जुनाङमा ५ जना, मनराज बालविबास हिममा ५ जना, तातोपानी आवि गुइबाङमा ८ जना र नियमित छात्रवृत्ति पाउनेतर्फ पुथा मावि मैकोटमा १७ जना गरेर जम्मा १७३३ जना विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरिएको हो । ज्याकेट वितरणको संयोजन संस्थाका रुकुम (पूर्व) जिल्ला संयोजक कर्मसहि घर्ति मगरको अगुवाईमा नेपाल तथा विदेशका १८ जना स्वयम्सेवकको टोलिले १० दिन लगाएर वितरण गरेको निर्देशक कुँवरले बताए । न्यानो जकेट कार्यक्रममा मात्र यो वर्ष २२ लाख ५३ हजार खर्च गरिएको संस्थाले जनाएको छ ।
वितरण कार्यक्रमको उद्घाटन पुथ उत्तरगंगा गाउँपालिकाका नवनिर्वाचित उपाध्यक्ष नरपुरा घर्ति र मेटल फर नेपालका फ्लावर केसीले संयुक्तरुपमा कोल गाउँबाट गरेका थिए । वडा नं १४ का वडा अध्यक्ष द्रवेश बुढामगरले सिद्धमण्डली माविमा न्यानो ज्याकेट वितरण कार्यक्रमा बोल्दै ‘राज्यले गर्न नसकेको काम कर्मफ्लाइट्समार्फत भएको हुँदा स्थानीय तहलाई विकास निर्माणमा ठूलो सहयोग भएको’ बताएका थिए ।
बालकल्याण मावि घरेलु टाकुराका प्रअ अर्जुन बुढाक्षेत्रीले ‘न्यानो ज्याकेट तथा पुस्तकालयको लागि पुस्तक वितरण कार्यक्रम यो विद्यालयमा पहिलो पटक भएको बताउँदै यस्तो कार्यक्रम पहिला प्रदेश मुख्यमन्त्री कार्यक्रममार्फत हुने भनिए पनि कहिल्यै नभएको’ गुनासो गरेका थिए ।
यसै सन्दर्भमा कर्मफ्लाइट्स फाउन्डेसन पोखरा कास्कीले पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं ८ मा रहेका ३ वटा विद्यालय, वडा नं ७ को १ विद्यालयमा पुस्तकालयको लागि पुस्तकहरू वितरण गरिसकेका छन् । थप ५ वटा विद्यालयमा पुस्तकालय स्थापना भैसकेपछि सबै ४६ वटै विद्यालयमा एक विद्यालय एक पुस्तकालय कार्यक्रम सम्पन्न हुने कुरा स्थानीय अभियन्ता कर्मसही घर्तिमगरले जानकारी दिए ।
स्थापनाकालदेखि शिक्षा तथा स्वास्थ्य क्षेत्रमा थुप्रै कार्य गरिआएको कर्मफ्लाइट्स फाउन्डेसनले ‘एक विद्यालय, एक पुस्तकालय’ कार्यक्रममार्फत पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं ८ मा रहेका जनसहयोग मावि रिवाङचौर, लालपाटन आधारभूत विद्यालय चुमा र बालकल्याण आधारभूत विद्यालय घरेलु टाकुरा र वडा नं ७ मा रहेको आधारभूत विद्यालय खारखोलामा पुस्तकालय स्थापनार्थ पुस्तक वितरण गरेको निर्देशक प्रेमबहादुर कुँवरले बताए ।
यसअघि संस्थाले ११ वटा विद्यालयहरुमा एस्ट्रो क्याम्पसहित टेलिस्कोप प्रदान गरेकोमा पोखरा एस्ट्रोनोमिक सोसाइटिको सक्रियतामा पुनः ती विद्यालयमा एस्ट्रो क्याम्प र आकासमा तारा अवलोकन गरिएको थियो । सबै विद्यालयहरुमा जाडोमा बाँच्न के कस्ता सावाधानीहरु अपनाउने तथा आधारभूत प्राथमिक उपचारलगायतको विषयमा संग्लग्न स्वास्थ्यकर्मीबाट स्वास्थ्य शिक्षा कार्यक्रम पनि सँगसँगै सञ्चालन गरेका थिए ।