२६ औं पोखरा सडक महोत्सव सुरु

-


     मर्दी न्युज    
     १३ पुस २०८१ मा प्रकाशित


पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान), पोखराको आयोजनामा फेवाताल किनारमा २६ औं पोखरा सडक महोत्सव शनिबारदेखि सुरु भएको छ ।

स्थानीय कला संस्कृतिको सम्वर्द्धनसहित आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउने यो महोत्सवको नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरे ।

उद्घाटन मन्तव्य राख्दै मन्त्री गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि धेरै काम बाँकी रहेको बताए । विमानस्थल सञ्चालनका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यायल, गृह मन्त्रालय अन्तर्गतको भिसा अनुमति कार्यालय, अर्थ मन्त्रालय अन्तर्गतको भन्सार अड्डा पोखरामा सञ्चालनका लागि आवाज उठाइरहेको उनले सुनाए । नागरिक उड्डयले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी कार्यविधि छिट्टो बनाउनुपर्ने उनको जोड थियो ।

महोत्सव सुरु हुनुअघि पोखराको लेकसाईडस्थित खहरेबाट विभिन्न जातजाति, ६० बढी आमा समूह, पर्यटनसम्बद्ध विभिन्न संघसंस्थाहरुले साँस्कृतिक झाँकीसहित ¥याली निकालेका थिए ।

‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नाराका साथ शनिबारदेखि पोखरा लेकसाईड क्षेत्रमा सुरु भएको महोत्सव ५ दिनसम्म सञ्चालन हुनेछ । महोत्सवको आकर्षणमा विभिन्न जातजातिका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, कन्सर्ट, खेलकुद खेलकुदतर्फ बोट रेस, वेटर रेस, टंग अफ बार, मःम, ससेज खाने प्रतियोगिता, सचेतनामूलक सडक नाटक, सेल्फी फोटो बुथ, पोखराको पर्यटनको विकास, प्रवर्द्धन, अवसर तथा चुनौती विषयमा टक सो, पोखरा सेरोफेरोको स्थानीय उत्पादित हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजलाई प्राथमिकता साथ प्रदर्शनीको व्यवस्था रहेका छन् ।

आयोजक समितिका अध्यक्ष विश्वराज पौडेलका अनुसार महोत्सवले नेपालमा कला, संस्कृति, तथा पर्यटनलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने राम्रो अवसर प्रदान गरेको बताए । उनका अनुसार समग्रमा सडक महोत्सव स्थानीयस्तरमा आर्थिक गतिविधि चलायमान, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना गर्न गतिलो माध्यम बनेको प्रष्ट पारे ।