
बागलुङ । इमेज बचत तथा ऋण सहकारी संस्थामा रकम बचत गर्ने पीडितले मेलमिलापको आधारमा रकम फिर्ता पाउन थालेका छन् ।
ठगी मुद्दामा संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई बिपक्षी बनाएका जाहेरवालामध्ये ५ सय ४७ जना बचतकर्ताले मेलमिलाप गरेपछि रकम फिर्ताको काम शुरु भएको हो ।
मुद्दाको समय लम्बिने र मजदुरी गरेर कमाएको रकम राखेकाहरु बचत फिर्ता नपाएर पीडित भएपछि सहकारी संचालक र सहकारी पीडित संघर्ष समितिको अगुवाई र सरकारी वकिलको रोहोवरमा १ लाख रुपैँयासम्मका बचतकर्तालाई रकम फिर्ता गरिएको र सबैको रकम क्रमश फिर्ता गरिने संस्थापक अध्यक्ष देवकुमार नेपालीको भनाइ छ ।
बुर्तिवाङका ९२ जना र गलकोटका १ सय ७६ गरी २ सय ६८ जना र बागलुङमा २२ जनाको रकम फिर्ता गरिएको छ । पहिलो चरणमा उनीहरुको ठगिएको रकम २३ करोड ७५ लाख रुपैया बराबरको रकम घरसारमा मिलेर पाएको भन्दै मेलमिलाप गरिसकेका छन् ।
अहिलेसम्म १ करोड ३२ लाख फिर्ता गरिएको छ । साना बचतकर्तालाई पहिलो चरणमा बचत फिर्ता गरेपछि दोश्रो चरणमा ५ लाख रुपैँयासम्मको फिर्ता गर्ने योजना राखिएको संचालकको भनाइ छ ।