नेपाली शिक्षामा सम्मान र अभिमुखीकरण

-


     मर्दी न्युज    
     फागुन ७ गते २०८१ मा प्रकाशित


पोखरा । नेपाली शिक्षा विभाग, पृथ्वीनारायण क्याम्पस पोखरामा यहि सोमावार शिक्षाशास्त्र सङ्काय स्नातकोत्तर तह प्रथम सत्रमा अध्ययन गर्न आउने विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नव आगन्तुक विद्यार्थीहरूलाई पुष्प गुच्छा, टीका र खादाद्वारा स्वागत गरिएको थियो ।

कार्यक्रममा विभागका प्राध्यापक डा. रामनाथ ओझाले शिक्षाशास्त्र सङ्कायको सेमेस्टर प्रणालीमा आधारित भई पाठ्यक्रमका उद्देश्य, शिक्षण सिकाइ कार्यकलाप, मूल्याङ्कन शैली लगायतका विषयमा विद्यार्थीहरूलाई अभिमुख गराएका थिए। अन्य सङ्काय र विभागका तुलनामा शिक्षाशास्त्र सङ्काय नेपाली शिक्षाको पाठ्यक्रम प्रायोगिक प्रकृतिको भएकाले यस तह र विषयमा गरिने सिकाइ सहजीकरणजन्य कार्यकलापहरू प्रायोगिक, व्यावहारिक र शिक्षाशिक्षणमैत्री हुने पनि उहाँले सो अवसरमा जानकारी दिएका थिए। शिक्षाशास्त्र सङ्कायको मर्म र भावनाअनुसार नेपाली शिक्षामा स्तरीयता कायम गर्नको लागि नियमितता, सहभागिता र सक्रियताका साथ शिक्षण सिकाइमा समर्पण हुनुपर्नेमा पनि उहाँले यस अवसरमा जानकारी गराएका थिए ।

कार्यक्रममा विभागका प्राध्यापक डा. रामचन्द्र पोखरेलले विद्यार्थीहरूले रोजगारीको अभाव छ भनेर भाष्य सिर्जना गरे पनि असल र योग्य व्यक्तिका लागि समाजमा रोजगार पर्याप्त रहेको तर्क दिए । देशले खोजेको र समाजले मागेको शिक्षा दिनका लागि हामी सधैं तत्पर हुनुपर्नेमा पनि समेत जोड दिएका थियो। नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै प्राध्यापक डा. यदुनन्दन उपाध्यायले लगनशील विद्यार्थी र समर्पित शिक्षकबाट नै समाज परिवर्तनसँगै उच्च शिक्षाका उद्देश्यहरू पूरा गर्न सकिने धारणा राखेका थिए ।

नव आगन्तुक विद्यार्थी सुनिताकुमारी बि.क. र त्रिलोचन पौडेलले उच्च शिक्षाको अध्ययनका लागि आफूहरूले पृथ्वीनारायण क्याम्पसलाई नै रोजेको खुलासा गरे । सुन्दर भविष्य निर्माणका लागि आफूहरूले समयको भरपुर उपयोग गरी ज्ञान र दीक्षा लिने प्रतिबद्धता पनि उनीहरूले जनाए । शिक्षाशास्त्र सङ्काय अध्यापन अभ्यास विभागका प्रमुख रामप्रसाद सुवेदीले सिकाइका सैद्धान्तिक र प्रायोगिक दुवै पक्षमा विद्यार्थीले आफूलाई अब्बल बनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको अध्यक्षता गरिरहनुभएका नेपाली शिक्षा विभागका प्रमुख अर्जुनप्रसाद सुवेदीले नेपाली शिक्षा विभागले क्याम्पसको सहयोगमा अध्ययन, अध्यापन र अनुसन्धानलाई सँगै लान चाहेको बताएका थिए । यस अवसरमा उपप्राध्यापक सुरज पौडेलले सिर्जनाका माध्यमबाट कार्यक्रमलाई रोचक बनाएका थिए । उक्त कार्यक्रमको सहजीकरण विभागका सदस्य उप प्रा. डा. विष्णुप्रसाद शर्माले गरेका थिए ।