
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। बिहीबार नेप्से परिसूचक ४९.१५ अंकले बढेर २८१५.०४ विन्दुमा कायम भएको हो।
शेयर बजारमा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको सकारात्मक प्रभाव परेको हो । केन्द्रीय बैंकले बैंकहरुले भविष्यमा गर्नुपर्ने कर्जा नोक्सानी बापत छुट्याउनु पर्ने रकम घटाउनुका साथै लघुवित्तको आधार दरअनुसार कर्जा दर तय गर्न पाउने व्यवस्था गरेको थियो । जसको सकारात्मक प्रभावले यस दिन नेप्से र कारोबार रकम दुवै बढ्न पुगेको हो ।
बिहीबार सेन्सेटिभ इण्डेक्स २.१२ प्रतिशतले बढेर ४६९.८२ विन्दुमा अडिएको छ।
आज सबै समूहको शेयर बढेकोमा बैंक समूह ३ प्रतिशतभन्दा धेरै र उत्पादन समूह झन्डै ३ प्रतिशतले उकालो लागेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् मंगलबार ९ अर्ब ९० करोडको शेयर खरिदबिक्री भएकोमा आज ३०० स्टकको १ लाख १२ हजार ३२ पटकको कारोबारमा ११ अर्ब ३९ करोड २४ लाख १ हजार रुपैयाँ बराबरको २ करोड ६१ लाख ९९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
आज गार्डियन माइक्रो लाइफ इन्सुरेन्स, अपर हेवा खोला जलविद्युत्, सिन्धु विकास बैंक, दोर्दी खोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर भने ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।