लमजुङको पस गाउँमा १५औँ महोत्सव सुरु

-


     मर्दी न्युज    
     फागुन १९ गते २०८१ मा प्रकाशित


लमजुङ । लमजुङको क्व्होलासोंथर गाउँपालिका–६ पस गाउँमा पन्ध्रौँ पस गाउँ महोत्सव सुरु भएको छ । व्यवसायिक होमस्टे र स्थानीय संस्कार संस्कृतिसहित गाउँको पर्यटन प्रवर्द्धनका लागि महोत्सव आयोजना भएको हो ।

महोत्सवको गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री बस्यालले कोदोको घरेलु रक्सी अब ब्राण्डिङ गर्नुपर्ने बताएका छन् । कानुनी रूपमा लोकल मदिरा बिक्री गर्न प्रतिबन्ध छ । कोदोको रक्सीलाई ‘ब्राण्डिङ’ गरी बिक्री गर्न कानुनी र व्यावहारिक पक्षको अध्ययन थालिएकाले अब यसको ब्रान्ड बनाउनुपर्ने मन्त्री बस्यालको भनाई थियो ।

महोत्सवको माध्यमबाट ग्रामीण पर्यटन विकाससँगै ग्रामीण अर्थतन्त्रको विकास गर्ने उद्देश्य राखेको पस गाउँ सामुदायिक होमस्टेका अध्यक्ष एवं क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताए ।

२०६० सालयता हरेक वर्ष पसगाउँमा महोत्सव हुँदै आएको छ । महोत्सवमा स्थानीय संस्कृति, अलैँची र चिया बगानको दृश्यावलोकन, स्थानीय खाना महोत्सव, प्राकृतिक दृश्यावलोकन, स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति लगायतका कार्यक्रम राखिएका छन् ।

ढुङ्गाका छाना, घुमाउने घर, परम्परागत रहनसहन पस गाउँका विशेषता हुन् । समुद्री सतहदेखि एक हजार छ सय तिस मिटरको उचाइमा रहेको पस गाउँ कास्कीको मादी गाउँपालिकाको सीमामा पर्छ । यहाँ करिब दुई सय ५० घरधुरी छन् । गाउँमा चौबीसै घण्टा बिजुली र पानीको सुविधा छ ।