कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग गर्न शिक्षकहरुलाई परीक्षा बोर्डको अनुरोध

-


     मर्दी न्युज    
     वैशाख ४ गते २०८२ मा प्रकाशित


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले शिक्षकहरुलाई कक्षा १२ को परीक्षा संचालनमा सहभागी हुन अनुरोध गरेको छ।

आज एक अनुरोध पत्र सार्वजनिक गर्दै बोर्डले कक्षा १२ को परीक्षा संचालन तथा व्यवस्थापनको काम गर्न र एसइईको उत्तर पुस्तिका परीक्षणमा सहयोग गर्न भनेको हो ।

बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जारी गर्नुभएको अनुरोध पत्रमा आफ्नो पेशाग हकहित र सुरक्षासँगसँगै आफ्ना आज्ञापालक विद्यार्थीको भविष्य एवं प्राथमिकताको संवेदनशील पक्षलाई समेत आत्मसाथ गर्दै पेशागत उत्तरदायित्वकै रुपमा उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारीमा रही सहयोग गर्न अनुरोध गरिएको छ ।

यसअघि पनि बोर्डले शिक्षकहरुलाई कक्षा १२ को परीक्षा संचालन र एसइईको उत्तरपुस्तिका परीक्षणमा सहयोग गर्न अनुरोध गरेको थियो । तर शिक्षकहरुले भने आफ्नो माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने अडान दोहोर्‍याएका छन ।

शिक्षकहरुको अडान कायमै रहेमा र माग पनि पुरा नभएमा कक्षा १२ को परीक्षा प्रभावित हुने निश्चितप्रायः छ । कक्षा १२ को परीक्षा यही बैशाख ११ गतेदेख शुरु हुँदैछ।